त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक छ – प्रधानमन्त्री
काठमाडौँ, पुस २७
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन । दाहालले त्रिदेशीय साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए । नेपाल चेम्बर अफ कमर्सको ६६ औँ वार्षिक साधारण सभालाई आज राजधानीमा सम्बोधन गर्दै दाहालले रुग्ण उद्योगलाई पुनःस्थापना गर्ने तयारीमा सरकार लागेको जानकारी गराए ।
वित्तीय क्षेत्रलाई सुदृढ बनाउन हालै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन पारित भएको जानकारी गराउदै दाहालले नयाँ खुल्ने उद्योगलाई विद्युत् आपूर्ति गर्न सरकारले सहयोग गर्ने बताए । हवाई, रेल र सडक यातायात सम्पर्कबाट त्रिदेशीय व्यापारिक साझेदारिता बढाउने उद्देश्यअनुरुप उत्तर–दक्षिण मार्ग निर्माणमा जोड दिइएको बताए ।
सामाजिक न्यायसहितको आर्थिक विकास अहिले जनताको चाहना भएको दाहालले बताए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले विद्युत् उत्पादन बढाएर पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने सुझाव दिए ।
प्रकाशित मिति: २७ पुस २०७३, बुधबार