गोदावरीका पूर्वप्रमुख र उपप्रमुखविरुद्ध मुद्दा दायर


 


काठमाडौँ, २१ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका पूर्व नगरप्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहित नौजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०७९÷८० मा खानीजन्य वा नदीजन्य साधारण निर्माणमुखी खनिज पदार्थको बोलपत्र आह्वान एवम् ठेक्का सम्झौता गर्दा कानुन विपरित काम गरेको आयोगको अनुसन्धानले देखाएको छ ।

आयोगले पूर्व नगरप्रमुख महर्जनविरुद्ध रु २६ करोड ६३ लाख ३७ हजार बराबर भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै उपप्रमुख अधिकारीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत प्रविन कोइराला, राजस्व शाखा प्रमुख श्रीकण्ठ घिमिरे, कर्मा कन्स्ट्रक्सन र त्यसका सञ्चालक रवि महर्जन, निराकार ढुङ्गा रोडा उद्योगका सञ्चालक मधुसुदन डोटेल, मछिन्द्रनाथ मल्टीप्रपोजका सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा उद्योगका सञ्चालक शशिराज शाही र वीरेन्द्र महर्जन विरुद्ध पनि समान बिगो दावी गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्