गाजाको आधाभन्दा धेरै संरचना ध्वस्त


 


जेनेभा । संयुक्त राष्ट्रसङ्घको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध सुरु भएपछि गाजा पट्टीमा करिब ५५ प्रतिशत संरचनाहरू ध्वस्त, क्षतिग्रस्त वा सम्भावितरूपमा क्षतिग्रस्त भएका छन् ।

राष्ट्रसङ्घीय स्याटेलाइट विश्लेषण एजेन्सी युएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित भएको विश्लेषणबाट पत्ता लागेको बताएको छ । 

उक्त अनुमान मे ३ मा लिइएको स्याटेलाइट तस्बिरमा आधारित छ । यसको तुलना गत वर्षको मे, सेप्टेम्बर र हमासले इजराइलमाथि आक्रमण गरेको अक्टोबर ७ भन्दा ठिक एक सातापछि अक्टोबर १५ मा लिइएको तस्बिरसँग गरिएको छ । हमासले गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो । 

पछिल्लो स्याटेलाइट तस्बिरको तुलना नोभेम्बरमा धेरै मितिमा लिइएका तस्बिरहरूसँग पनि गरिएको थियो । “स्याटेलाइट इमेजरी विश्लेषअनुसार युएनओएसएटीले ३६ हजार पाँच सय ९१ ध्वस्त संरचनाहरूको पहिचान गरेको छ”, एजेन्सीले विज्ञप्तिमा भनेको छ । 

यसका साथै १६ हजार पाँच सय १३ गम्भीररूपमा ध्वस्त संरचना, ४७ हजार तीन सय ६८ सामान्यरूपमा क्षतिग्रस्त संरचना र कूल एक लाख ३७ हजार दुई सय ९७ संरचनामा ३६ हजार आठ सय २५ सम्भावित क्षतिग्रस्त संरचना देखिएको एजेन्सीले उल्लेख गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, “यो गाजा पट्टीमा कूल संरचनाको करिब ५५ प्रतिशत र कूल एक लाख ३५ हजार एक सय ४२ अनुमानित क्षतिग्रस्त आवास एकाइअनुरूप हो ।”

केन्द्रमा दिर अल–बलाह र उत्तरमा गाजाको गभर्नरेटमा अप्रिल १ देखि मे ३ को बीचमा धेरै नोक्सान भएको स्याटेलाइट तस्बिरबाट थाहा भएको युएनओएसएटीले भनेको छ । 

उक्त मितिमा स्याटेलाइट तस्बिरहरूको तुलना गर्दा दिर अल–बलाहमा थप दुई हजार छ सय १३ संरचना क्षतिग्रस्त भएको र मात्र एक महिनामा गाजा गभर्नरेटमा थप दुई हजार तीन सय ६८ संरचना ध्वस्त भएको थियो । 

एजेन्सीले निष्कर्ष प्रारम्भिक विश्लेषणको भाग भएको र यसलाई अझै पनि फिल्डमा मान्य हुन बाँकी रहेको जनाएको छ ।  रासस/एएफपी

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्