हुरीका कारण केराखेतीमा १२ करोडबढीको क्षति


 



चितवन, २० जेठ । हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

उहाँले भन्नुभयो, “पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।” उहाँका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो ।

सङ्घका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोडबढीको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । सत्तरी जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उहाँले बताउनुभयो । नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । उहाँका अनुसार यहाँ सात सय किसानले केराखेती गरेका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्