एक लाख सहयोग गर्न, डेढ लाखको हेलिकप्टर!


 


काठमाडौं, पुस २७
ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ सहयोग गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्च गरेर मंगलबार सेनाको हेलिकोप्टर प्रयोग गरेका छन् ।

मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेष्ट टेक्निसियन्स् एशोसिएशन अफ नेपाल (नेफ्टा) का महासचिव प्रेम सापकोटालगायत शाहीका परिवारलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकोप्टर लिएर मंगलवार जाजरकोटको दसेरा गाविस–८ गएका हुन् ।

विहान करिब ९ बजे सेनाको पाँच सिटे हेलिकोप्टर लिएर गएको मन्त्री भण्डारीको टोली साँझ पौने पाँच बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकोप्टर प्रयोगमा डेढ लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो ।

मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्यलगायतको टोलीले मंगलवार मृतक शाहीका परिवार वसोवास गरेको जाजरकोट पुगेर संवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत् जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकाशित मिति: २७ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्