वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत


 



मकवानपुर, १८ जेठ । वाग्मती प्रदेश प्रदेशसभाको आज अपराह्नमा बसेको प्रदेशसभा बैठकबाट प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आथिर्क वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उक्त प्रस्ताव पारित गरियोस् भनी सो बैठकमा पेस गर्नुभएको थियो । सो बैठकमा प्रदेशसभाका सदस्यहरुले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नका जवाफ दिनुहुँदै उहाँले प्रदेश सरकारले दलगत स्वार्थभन्दा माथि उठेर सबै प्रदेशसभाका सदस्यहरुको भावनालाई कदर गर्दै आगामी आवमा राष्ट्रिय गौरवको आयोजना र बजेट सन्तुलित ढङ्गबाट वितरण गर्ने बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका एक सय १९ मध्ये ८५ स्थानीय तहमा आधुनिक प्रविधिबाट कृषि उत्पादन गर्ने लक्ष्यका साथ सरकारले पकेट कार्यक्रमको तर्जुमा गरिएको उल्लेख गर्नुभयो । उहाँले प्रदेशका १३ जिल्लामा प्रत्येकमा एक÷एकवटा प्राङ्गारिक मल काराखाना स्थापना गर्नेतर्फ सम्भाव्यता अध्ययन गर्ने र त्यसका लागि प्रदेश सरकारले उच्च प्राथमिकताका साथ स्रोतसाधन तथा बजेट तर्जुमा गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले अहिले कृषि मन्त्रालयमा प्रदेशमा १० प्राङ्गारिक मल कारखानाका लागि मागपत्र प्राप्त भएको र सो माग पत्रलाई विज्ञहरुले छलफल गरिरहेको जानकारी दिनुभयो । शिक्षाको गुणस्तरलाई परिमार्जन गरी प्रदेशको पायक पर्ने स्थानमा प्रदेश विश्वविद्यालय स्थापना गर्ने र त्यसका लागि आवश्यक कार्यदल गठन भइसकेको उहाँले उल्लेख गर्नुभयो । कृषि, वन, इन्जिनियरिङ, स्वास्थ्य चिकित्सक, मानविकी तथा व्यवस्थापन विषयमा उच्च शिक्षा अध्ययन गर्ने विद्यालयको कोटा निर्धारण गरी भर्ना गर्ने चलनलाई अब प्रदेश सरकारले अन्त्य गर्ने प्रक्रियालाई ऐन, कानुनको तर्जुमा गरी कार्यान्वयन गर्नेतर्फ सरकारले पहल गर्ने बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रादेशिक पाँच अस्पताललाई गुणस्तरीय एवम् स्वास्थ्य क्षेत्रलाई फड्को मार्ने किसिमको नमूना अस्पताल निर्माण गर्ने योजना छ । चितवनको माडी, दोलखाको जिरी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको दुधौली र रामेछापको मन्थलीस्थित अस्पताल निर्माण गर्ने योजना छ ।

बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि संशोधन गरियोस् भनी आठ प्रदेशसभा सदस्यहरु क्रमशः सूर्यचन्द्र लामिछाने, सुरेन्द्रराज गोरसाईं, रामकृष्ण चित्रकारका तर्फबाट गोविन्द लम्साल, श्यामबहादुर खड्का, आशा लामा, समिता खड्की, लक्ष्मी घिमिरे र प्रभात तामाङले राख्नुभएको प्रस्तावलाई बहुमतले अस्वीकृत गरियो । उक्त बैठकमा प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले विपद् व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरणको सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नुभयो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले उहाँको ध्यानाकर्षण प्रस्तावप्रति प्रदेश सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्नुहुँदै विपद् व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरण गर्न प्रदेश सरकार अहिले मकवानपुरको हेटौँडा, नुवाकोटको विदुर र काभ्रेको धुलिखेलमा विपद् व्यवस्थापन गर्न केन्द्र स्थापना गरी स्रोतसाधन र जनशक्ति परिचालन गरिएको बताउनुभयो ।

प्रकाशित मिति: १८ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्