पृथ्वी जयन्तिको दिन विदा दिने चलन कहिले देखि काटियो ?


 


काठमाडौं, पुस २७

०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो ।

त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भने सरकारले निरन्तर रूपमा पृथ्वीजयन्तीमा बिदा दिँदै आएको थियो भने सरकारीस्तरमै पृथ्वीनारायण शाहको सम्मानमा कार्यक्रम हुने गरेको थियो । यस वर्ष क्रिसमस दिवसको अघिल्लो दिन सार्वजनिक बिदा दिएको सरकार पृथ्वीजयन्तीमा बिदा दिन दबाबमा परेको थियो ।

त्यस वर्ष जनआन्दोलनको उत्कर्षमा सिंहदरबार मूलगेटसामुन्ने रहेको पृथ्वीनारायण शाहको सालिक तोडफोड भएको थियो ।

त्यतिवेलाको राजनीतिक माहोलका कारण पृथ्वीजयन्तीको बिदा कटौती भएको तत्कालीन गृहसचिव उमेश मैनालीले बताए । ‘गृह मन्त्रालयले प्रस्ताव पेस गर्ने, मन्त्रिपरिषद्ले निर्णय गर्ने हो । त्यो वर्ष पनि बिदासम्बन्धी निर्णय त्यसैगरी भएको हो,’ हाल लोकसेवा आयोगका अध्यक्ष रहेका मैनालीले भने, ‘मन्त्रिपरिषद्ले बिदा कटौती गर्ने निर्णय गरेको हो, पृथ्वीजयन्ती नमनाउने निर्णय गृह मन्त्रालयस्तरको होइन ।

मन्त्रालयले सार्वजनिक बिदा दिने वा हटाउने निर्णय गर्न सक्दैन ।’ तर, त्यसवेला के–कति कारणले बिदा कटौती भएको हो भन्नेबारे सार्वजनिक टिप्पणी नगर्ने मैनालीले बताए ।आजको नयाँ पत्रिका दैनिकामा समाचार छ ।

प्रकाशित मिति: २७ पुस २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्