अमेरिकाले सन्दीपलाई फेरि पनि भिसा दिएन


 


काठमाडौं, जेठ १७ । अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि पनि भिसा दिन अस्वीकार गरेको छ ।

बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका उनलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले टी–२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

सन्दीपलाई अमेरिकाको भिसा दिनुपर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन पनि गरेका थिए ।

टी–२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो ।

क्यानले उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेपनि अमेरिकाले भिसा नदिने भएपछि उनी विश्वकप खेल्नबाट बन्चित हुने भएका छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्