अमेरिकाको भिसाका लागि सन्दीपले फेरि अन्तर्वार्ता दिने


 


काठमाडौं, जेठ १७ । टी–२० विश्वकप खेल्न अमेरिका जानका लागि अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई फेरि अन्तर्वार्तामा बोलाएको छ ।

यसअघि भिसा दिन अस्वीकार गरेको दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै उनलाई खेल्ने मौका दिनका लागि अमेरिकासँग भिसाको आग्रह गरेको छ ।

टी–२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्