रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


 


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्चमा दायर मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ ।

लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो । तर निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।

न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए । यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको उक्त रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेपछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति: १७ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्