जर्मनीका पूर्वराष्ट्रपतिको निधन


 


बर्लिन, पुस  २६

जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा आज निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान दिनुभएको थियो ।

उहाँ जर्मनीको इतिहासमा नाजीहरुद्वारा गरिएको आमनरसंहारलाई स्मरण गरी त्यसबाट ठूलो पाठ सिक्नुपर्ने र सदैव मुलुकलाई शान्तिको मार्गमा लैजानुपर्ने धारणाका प्रखर हिमायति पनि हुनुहुन्थ्यो ।

जर्मनीका वर्तमान राष्ट्रपति जोचिम गाउकले आज हर्सोग दिवङ्गत हुनुभएको औपचारिक जानकारी दिनुभयोे तर थप विस्तृत विवरण भने दिनु भएन ।

उहाँले स्वर्गीय हर्सोगको पत्नीलाई पठाउनु भएको एक समवेदना सन्देशमा हर्सोग जर्मनीको हरेक क्षेत्रमा सदैव सुधार होओस् भन्ने चाहने राख्ने कट्टर राष्ट्रवादी नेता तथा प्रयास र परीक्षणमा जहिले पनि सफल एक विशिष्ट व्यक्तित्व हुनुभएको चर्चा गर्नुभएको छ ।

जर्मनीको बेभेरिया राज्यको ल्यान्डसट भन्ने स्थानमा सन् १९३४ अप्रिल ५ मा जन्मनु भएका स्वर्गीय हर्सोग सन् १९९४ मा राष्ट्रपति पदमा निर्वाचित हुनुपूर्व जर्मनीको सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँका पिताले पहिला एउटा स्थानीय नस (त्यसको सुगन्धित धूलोलाई नाकले सुँघेर तलतल मेटाइन प्रयोग गरिने सुर्ती) कारखाना चलाउनुभएको थियो । पछि उहाँले त्यो काम छाडेर स्थानीय एक सङ्ग्रहालयको निर्देशक पदको जिम्मेवारी सम्हाल्नु भयो ।

स्वर्गीय हर्सोगले म्युनिख विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासील गर्नुभएको थियो । उहाँले केही वर्षसम्म दक्षिण–पश्चिमी जर्मनीको बाडेन–वेर्टम्बर्ग राज्यको संस्कृति मन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

त्यसपछि, सन् १९८३ मा उहाँ सङ्घीय संवैधानिक अदालतमा उपाध्यक्ष पदमा नियुक्त हुनु भएको र १९८७ मा सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश पदमा पदोन्नति हुनु भएको थियो ।

स्वर्गीय हर्सोग जर्मनीका अनुदारवादी चान्सेलर हेल्मुट कोलको १६ वर्षे कार्यकालको अन्ततिर निर्वाचित हुनुहुने पहिलो उदारवादी राष्ट्रपतिका रुपमा पनि परिचित हुनुहुन्छ ।

चान्सेलर हेल्मुट कोलको कार्य कालमा जर्मनीको आर्थिक स्तरोन्नति हुन सकेको थिएन । एकातिर मुलुकले बेरोजगारीको विषम परिस्थितिसँग सङ्घर्ष गरिरहनु परेको थियो भने अर्कातिर देशलाई आवश्यक पर्ने श्रमशक्ति बजारमा लचिलो अवस्थामा उपलब्ध थिएन ।

यस्तो परिस्थितिमा उहाँले जर्मनीमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरु ल्याई देशको अर्थतन्त्र सुदृढ र वलिष्ठ तुल्याउने अथक प्रयास गर्नुभएको थियो । राष्ट्रिय राजनीतिमा उहाँलाई प्रवेश गराउने गुरु भने हेल्मुट कोल नै हुनुहुन्थ्यो ।

हेल्मुट कोल ह«ाइनल्यान्ड–प्यालेटिनेट राज्यको गर्भनर हुँदा स्वर्गीय हर्सोगलाइ तान्नु भएको र सन् १९७३ मा महत्वपूर्ण राजनीतिक पद दिलाउनुभएको थियो ।

उहाँ पूर्वी जर्मनी र जर्मनी मूलभूमि (पश्चिम जर्मनी) को पुनःएकीकरणको चार वर्ष पश्चात् पहिलो राष्ट्रपतिको रुपमा सम्मानित पनि हुनुहुन्छ ।

स्वर्गीय हर्सोग आफ्नी दोश्रो पत्नी अलेक्ज्यान्ड्रासँग बस्दै आउनु भएको थियो । रासस÷एपी

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्