एमाले माेरङ अधिवेशनः ढकाल जित नजिक


 


बन्दसत्रमा नेतृत्वकोे चर्काे आलोचना
विराटनगर, पुस २६

सोमबारदेखि विराटनगरमा शुरु भएको एमाले मोरङको आठौं जिल्ला अधिवेशनको दोस्रो दिन मंगलबार बन्दसत्रमा नेतृत्वको चर्को आलोचना भएको छ । मंगलबार प्रतिवेदन माथिको छलफलका क्रममा लिखित प्रश्न गर्दै कार्यकर्ताहरुले अध्यक्ष रेग्मीको आलोचना गरेका हुन् ।

प्रतिनिधिहरुले नेतृत्वले ल्याएको प्रतिवेदन सतही रुपमा झारा टार्न खोजिएको टिप्पणी गरे । संविधानसभामा तीन निर्वाचन क्षेत्र जितेको विषयलाई मात्र बढी केन्द्रित गरिएको भन्दै कार्यकर्ताहरुले ठोस कुरा आउन नसकेको आरोप लगाए ।

स्वतः प्रतिनिधि हुने कुरा पार्टी विधान विपरीत गरेको आरोप समेत कार्यकर्ताले लगाएका छन् । कतिपय प्रतिनिधिले बजेटको कार्यक्रम जस्तो प्रतिवेदन तयार गरिएको तर कार्यान्वयन गर्ने दृष्टिकोण नभएको भन्दै आलोचना गरे ।

आठौं जिल्ला अधिवेशन भइरहँदा यतिबेला विराटनगरमा एमाले नेता कार्यकर्ताको चहलपहल निकै छ । ८ सय ८२ जना प्रतिनिधि र आ–आफ्ना नेतृत्वलाई जिताउन र सहयोग गर्न खटिएका सहयोगी कार्यकर्ताहरु सहित करिब दुई हजार एमालेका कार्यकर्ता विराटनगरमा भेला भएका छन् ।

अधिवेशनमा सहभागी प्रतिनिधि सन्तोष बान्तवाले अहिलेको नेतृत्वले जनताको मन जित्न नसकेको तर्क गरे । उनले समग्र माहोल हेर्दा ढकाल जित नजिक पुगेको दावी गरे ।

मोरङ ८ नं. क्षेत्रको प्रतिनिधित्व गरेका बान्तवाले अघिल्लो अधिवेशनमा ८ नम्बर क्षेत्रमा ढकालको उपस्थिती कमजोर रहेको तर अहिले बहुमत प्रतिनिधिहरु ढकाललाई जिताउन लागिपरेकाले पनि उनको जित निश्चित जस्तै रहेको दावी गरे ।

कार्यकर्ताले चार वर्षे कार्यकालको मूल्याङ्कन गरिसकेको बताउँदै मोहन अधिकारीले अब ढकाललाई जितबाट रोक्न नसकिने बताए । यो अवधिमा ढकाल निरन्तर कार्यकर्तासँग गाउँमा गएर भिजेको र उनको गतिविधिलाई सहि ढंगले हेरेका कारणपनि उनीप्रतिको आस्था बढेको हो ।

अनेरास्ववियुका जिल्ला सचिव सुमन फुयाँलले ढकाल हरेक कार्यकर्तालाई अप्ठ्यारो पर्दा अस्पतालदेखि घरदैलो सम्म पुग्ने गरेको तर रेग्मीको आश्वासन दिने तर काम नगर्ने परिपाटीले उनीप्रति आस्था घटेको बताउँछन् ।

उता रेग्मी पक्षधरहरु भने निराश देखिन थालेका छन् । रुपेश खतिवडाले सचिवको उम्मेदवारी नपाएपछि रेग्मी पक्षका यूवापंक्ति निराश देखिएका हुन् ।

मधुमल्लाका प्रतिनिधी मच्छिन्द्र कुमार कार्की गाउँको माहोल र बजारको माहोल फरक रहेकाले चुनावमा ढकाल या रेग्मी कस्ले जित्छन् भनेर दावी गर्न नसकिने बताउँछन् । रेग्मीपक्षधर गंगा बास्तोलाले महेश रेग्मीको जित नजिक रहेको दावी गरे ।

उनले भने अध्यक्ष र सहसचिव चै जित्ने देखियो अरु भन्न सकिन्न ।

प्रकाशित मिति: २६ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्