भारतीय लोक सभाका लागि सम्पन्न छैठौँ चरणको निर्वाचनमा ५७.७ प्रतिशत मतदान
नयाँदिल्ली, १२ जेठ । लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
पश्चिम बङ्गालमा सबैभन्दा बढी ७७.९९ प्रतिशत, झारखण्डमा ६१.४१ प्रतिशत, उत्तर प्रदेशमा ५२.०२ प्रतिशत, ओडिशामा ५९.६० प्रतिशत, जम्मू कश्मीरमा ५१.३५ प्रतिशत , बिहारमा ५२.२४ प्रतिशत, हरियाणामा ५५.९३ प्रतिशत, र दिल्लीमा ५३.७३ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका आयोगले जनाएको छ ।
लोकसभा निर्वाचनको छैठौँ चरणमा बिहारका आठ सिट, हरियाणाका सबै १० सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डका चार, दिल्लीका सबै सात सिट, ओडिशाका छ सिट, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिट समावेश छन् । निर्वाचनमा कुल ८८९ उम्मेदवार मैदानमा छन् ।
आम निर्वाचनको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका लागि चार सय २८ संसदीय क्षेत्रहरूमा मतदान पूरा भइसकेको छ ।
छैठौँ चरणमा सम्पन्न निर्वाचनमा मतदानका लागि योग्य ११ करोड १३ लाखभन्दा बढी मतदातामध्ये पाँच करोड ८४ लाख पुरुष, पाँच करोड २९ लाख महिला र पाँच हजार १२० जना तेस्रो लिङ्गी मतदाताहरू रहेका थिए । यस चरणको निर्वाचन सञ्चालन गर्न करिब ११ लाख ४० हजार मतदान अधिकृतहरू खटाइएका थिए ।
लोकसभा निर्वाचनको सातौं चरणको मतदान जुन १ मा पूरा हुनेछ जसमा थप ५७ निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको नतिजा जुन ४ पछि घोषणा हुनेछ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८१, शनिबार