वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ


 


काठमाडौं, जेठ ९ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–१ बस्ने ३६ वर्षीय विशाल हमाल, काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।   

प्रहरीका अनुसार पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र शैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र शैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्