देशको आर्थिक समस्याबारे सरकार गम्भीर हुनुपर्छः अध्यक्ष लिङ्देन


 



काभ्रेपलाञ्चोक, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले आर्थिक समस्या बल्झदै जाँदा गम्भीर रुपमा छानबिन गरी भ्रष्टाचारको न्यूनीकरणमा नलागेको आरोप लगाउनुभएको छ ।

राप्रपा काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिद्वारा धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विशेषगरी सहकारीमा संलग्नको छानबिन गरी ‘राम्रालाई राम्रो र नराम्रोलाई कारबाहीको दायरामा’ ल्याएको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भन्नुभयो ।

“सरकारले आर्थिक रुपमा देशलाई ओरालोतर्फ लाउनेलाई गम्भीरतापूर्वक हेरेन, अब आर्थिक पक्षलाई सबल नबनाए देश गम्भीर मोडतर्फ जानसक्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो । उहाँले सरकारले भ्रष्टाचारीलाई उम्कन नपाउने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । युवावर्ग विदेशमा अध्ययन वा अन्य बहानामा रगत–पसिना बगाउन जाने लहरले देशको जनशक्ति पलायन भएकामा उहाँले दुःखेसो पोख्नुभयो । सरकार जनताको समस्याभन्दा आफ्नो समस्यातर्फ केन्द्रित भइरहेको उहाँको धारणा थियो ।

अध्यक्ष लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सशक्त बन्न आग्रह गर्नुभयो । “मैले अन्तरमनदेखि भनेको कुरा हो, भ्रष्टाचार गरी आफ्नो आमाको रगत खानुसरह हो, मैले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन, गरे भने मलाई मृत्युदण्ड दिए पनि हुन्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा राप्रपाका सहमहामन्त्री विजय खड्का, केन्द्रीय सदस्यद्वय उदय मुस्याजू र गणेशलाल श्रेष्ठले पार्टीमा नवआगन्तुकलाई शुभकामना व्यक्त गर्नुभएको थियो  । 

प्रकाशित मिति: ६ जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्