भारतलाई चेतावनी दिँदै पाकिस्तानले हाल्यो संयुक्त राष्ट्रसंघमा उजुरी


 


एजेन्सी ।
पाकस्तिानले भारतविरुद्ध राष्ट्रसंघमा उजुरी हालेको छ ।

भारतले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको भन्दै पाकिस्तानले संयुक्त राष्ट्रसंघमा उजुरी हालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानले बुझाएको प्रतिवेदनमा भारतको गुप्तचर एजेन्सी ‘रअ’ पाकिस्तानको बलुचिस्तान, फाटा र कराँचीमा आतंकवादी गतिविधिलाई  प्रोत्साहन दिइरहेको उल्लेख रहेको समाचार सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उसले भारतका यस्ता गतिविधि रोक्न संयुक्त राष्ट्रसंघसँग अनुरोध गरेको छ । बलुचिस्तान, कराँचीलगायतका स्थानमा भारतले हस्तक्षेप गरेको भन्दै उसको हस्तक्षेप रोक्न पाकिस्तानले माग गरेको छ ।

पाकिस्तानको विदेश मन्त्रालयका सल्लाहकारले आफनो पत्रमा लेखेका छन्, ‘बुलुचिस्तानमा गिरफ्तार भएका कथित ‘रअ’ का एजेन्ट कुलभूषण यादवको बयानले भारतको हस्तक्षेपलाई पुष्टि गर्छ ।’

भारतले आतंकवादी गतिविधिमा सामेल भएर लामो समय देखि राष्ट्रसंघको बडापत्रको उल्लंघन गरिरहेको पाकिस्तानले दाबी गरेको छ ।

उसले भारतको हस्तक्षेपकारी गतिविधि नरोके विश्व तथा यस क्षेत्रको शान्तिका लागि खतरनाक हुने चेतावनी दिएको जनाइएको छ । ‘पाकिस्तानले शान्ति चाहन्छ । यसको मतलब यो होइन कि हामी आफ्नो स्वायत्तता र स्वतन्त्रता माथिको हस्तक्षेप स्वीकार गर्छौं’, प्रतिवेदनमा भनिएको छ ।

पाकिस्ताले आफ्नो स्वतन्त्रताको रक्षाका लागि जस्तोसुकै कदम चाल्न सक्ने जनाएको छ ।

पाकिस्तानले आफ्नो देशमा गरेको हस्तक्षेपसँग जोडिएका सबुतसहितको एक प्रतिवेदन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजलाई बुझाएको हो ।

पाकिस्तानले  यसअघि सन् २०१५ मा राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुनलाई  पनि तीनवटा प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति: २५ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्