दुर्घटनामा पत्रकार रोहिताको मृत्यु


 



धनुषा, ५ जेठ । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीय रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए । मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

प्रकाशित मिति: ५ जेष्ठ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्