यी हुन् कार्की बहिर्गमनका ‘नायक’


 


काठमाडाैं, पुस २४
लोकतन्त्रको आधार मानिने विधि र पद्धतिको शासनमा कतिपयका नजरमा कसिङ्गर बनेर आएका कार्की प्रवृत्तिको सफाईको श्रेय पनि अहिले उनै अर्यालले पाएका छन्।

कार्कीको दवदवा चौतर्फी रहेका बेला उनी विरुद्धको रिट निरन्तर गर्न निवेदन दिन तपाईँलाई डर लागेन? भन्ने प्रश्नको जवाफमा अर्यालले भने, “मलाई बिल्कुल डर लागेन। म ठीक ठाउँमा छु, मैले एउटा मूल्य मान्यताका लागि कानुनी शासनका लागि गरेको हो भन्नेमा दृढ भएपछि, जसले जे भनेपनि त्यसबाट दायाँबायाँ म लाग्दा पनि लागिन। मलाई डर पनि लागेन।”

अख्तियार प्रमुखमा कार्की नियुक्तिको गाइँगुइँ चल्न थालेदेखि नै काठमाण्डूको एउटा वृत्तले त्यसको विरोधमा आवाज उठाउन थालिसकेको थियो।

राजनीतिक दलका नेतादेखि नागरिक समाजका अगुवा र नेपाल बार अशोशियशन समेत नियुक्तिको खिलाफमा देखिन्थे।

सम्भावित नियुक्तिको विरोधमा त्यसबेला आयोजित कार्यक्रमहरुमा सहभागी हुँदै गर्दा नै अर्यालको मनस्थिति तयार हुँदै थियो।
उनले भने, “२०६९ चैतको ३ गते उच्चस्तरीय राजनीतिक संयन्त्रले उहाँको नाममा सहमति गरेको थियो।

र, ५ गते नेपाल बारको प्राङ्गणमा आयोजित कार्यक्रममा भाषण गर्ने अग्रजहरुले उहाँको नामै लिएर खिलराज रेग्मी आइसकेपछि नेपाली जनतालाई पहिलो उपहार लोकमानसिंह कार्की आउँदै हुनुहुन्छ। त्यसकारणले अब लोकतन्त्र नै खतरामा पर्नेवाला छ भनेर जसरी उहाँहरुले भाषण गर्नुभयो मलाई त्यसले छोएको हो।

त्यसै बेलुका घरमा गएर मैले रिट मस्यौदा गर्न शुरु गरेको थिएँ।” कैयौं असल प्रशासकलाई समेत कार्कीले निलम्बन र कारवाहीमा पार्न लगाएको, सञ्चार गृहहरुलाई समेत त्रासमा पारेको, गोपनियताको नियम बिरुद्ध थुप्रै व्यक्तिका फोन ट्याप गरेको लगायतका अनेक बेथिति सार्वजनिक हुँदा पनि राजनीतिक दलका नेता र सांसदले त्यस्तो प्रवृत्तिमाथि लगाम लगाउन आवश्यक ठानेनन्।

कैयौं पूर्व र बहालवाला प्रशासक, नागरिक समाजका अगुवा र बरिष्ठ अधिवक्ताहरुसमेत फोनमा कार्की र अख्तियारबारे बोल्न डराउन थाले।
त्यस्तो समयमा अर्यालको रिट पुनरावलोकन हुने भयो।

त्यस्तो जोखिमपूर्ण समयमा प्रत्यक्ष धम्की उनले बेहोरे होलान? अर्याल भन्छन्, “प्रत्यक्ष धम्की कसैले पनि दिएको छैन। उहाँ अलि खतरनाक मान्छे हो, अलि होस गर्नु पर्छ। सकभर चाहिँ टाढै रहनुपर्छ भन्नेसम्म शुभेच्छुकहरुले भनेका थिए।”

अख्तियार प्रमुख विरुद्ध रिट हालेर करिब चार वर्ष लामो लडाइँमा आइतबार कार्कीको हार भएको छ। तर अर्यालले त केही समय अघि नै जब शक्तिशाली व्यक्तिका रुपमा चर्चामा आएर स्थापित जस्तै देखिएका कार्की अर्यालसँगै सर्वोच्च अदालतमा एकजना सुब्बाको कोठामा गएर आँफैले तारेख बुझ्नु परेको थियो त्यसैबेला आफ्नो जित भएको महशुस गरेको बताए।

उनले त्यसबेलै महशुस गरेको त्यो जितलाई सर्वोच्चका तीन न्यायाधीशको इजलाशले आइतबार सदर गरिदिएको छ। बीबीसी नेपाली

प्रकाशित मिति: २४ पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्