सन्दीपको मुद्दामा आज पनि सुनुवाइ, फैसला आउने सम्भावना


 


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको हो । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो।

हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए।

बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए । अब न्यायाधीशद्वय भट्ट र उप्रेतीको इजलासले नै सन्दीपको मुद्दाको फैसला गर्नेछ ।

गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

प्रकाशित मिति: २ जेष्ठ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्