सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, उत्तरी गोलार्धमा रंगीन प्रकाश देखियो


 


अमेरिका । पृथ्वीसँग ठोक्किएको असामान्य रूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्‍यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।

शुक्रबार दिउँसो ‘सौर्य विस्फोट’ अनुमानभन्दा केही घण्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले दुर्लभ गम्भीर भू–चुम्बकीय आँधीको चेतावनी जारी गर्‍यो । बेलायतमा प्रमुख रूपमा प्रदर्शन भएको ‘उत्तरी’ प्रकाशको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आउँदो सातासम्म रहने थियो ।

बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोसनी (प्रकाश)को ‘फोन स्न्याप’ साझा गरेका छन् । यो घटना लन्डन र दक्षिणी इंग्ल्यान्डसम्म देखिएको छ ।

बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले भने, “मुलुकभर माथिदेखि तलसम्म दृश्य थिए ।” उनले कार्यालयले प्राग र बार्सिलोनालगायत अरू युरोपेली स्थानबाट पनि फोटो र जानकारी प्राप्त गरेको बताए ।

एनओएएले पावर प्लान्ट र कक्षमा अन्तरिक्षयानका सञ्चालकका साथै संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीलाई पनि सावधानी अपनाउन सचेत गराएको छ । एनओएएका स्पेस वेदर प्रेडिक्सन सेन्टरका वैज्ञानिक रब स्टिनबर्गले भने, “पृथ्वी ग्रहमा अधिकांश मानिसका लागि उनीहरूले केही गर्नु पर्दैन ।”

एनओएएले आँधीले अमेरिकाको सुदूरदक्षिणमा अलाबामा र उत्तरी क्यालिफोर्नियासम्म रोसनी उत्पन्न गर्न सक्ने जनाएको छ । तर, यसको भविष्यवाणी गर्न कठिन थियो । सामान्यतया उत्तरी रोसनीहरूसँग सम्बन्धित रङको नाटकीय पर्दा नहुने तर अधिक हरियो रङको छर्राजस्तै हुने विश्लेषकले बताएका छन् ।

“यो वास्तवमा अन्तरिक्ष मौसमको उपहार होः अरोरा,” स्टिनबर्गले भने । उनी र उनका सहयोगीहरूले सबैभन्दा राम्रो अरोरा दृश्य नग्न आँखाको तुलनामा प्रकाशलाई ‘क्याप्चर’ गर्न राम्रो हुने फोन क्यामेरामा आउन सक्ने बताए ।

रेकर्ड गरिएको इतिहासमा सबैभन्दा तीव्र सौर्य आँधी सन् १८५९ मा मध्यअमेरिका र सम्भवतः हवाईमा आएको थियो । राससर/एपी

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्