पर्यटन प्रवर्द्धनका लागि सुदूरपश्चिममा साइकल यात्रा


 


कैलाली, वैशाख २७ । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइकल यात्रा सम्पन्न गरिएको छ । डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्री भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन् ।

गत शुक्रबार सुदूरपश्चिमको ऐतिहासिक अमरगढी किल्लाबाट ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रियस्तरको साइकल यात्रा–२०८१ का साइकल यात्रीले डोटीको दिपायल–सिलगढी–झिक्राना हुँदै पर्यटकीय क्षेत्र खप्तड–पाटनसम्म पुगेर यात्रा सम्पन्न गरेका हुन् ।

साइकल यात्रामा सहभागीले एकरात खप्तड क्षेत्रमा बास बस्नुका साथै बुधबार बिहान कैलालीको खानीडाँडाबाट अर्को गन्तव्य तय गर्दै धनगढी पुगेका हुन् ।

“अमरगढी किल्लाबाट साइकल चढेरै डोटीको झिक्राना रुट हुँदै तीन दिनमा खप्तड पुुग्यौँ”, साइकलयात्री सङ्गीता घलेले भन्नुभयो, “साइकल चलाउँदै खप्तडको मनोरम दृश्य हेर्न पाइयो ।” यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्दै आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यले यात्रा गरिएको उहाँको भनाइ छ ।

“खप्तड पर्यटनको विकासका धेरै सम्भावना बोकेको क्षेत्र हो”, घलेले भन्नुभयो, “यहाँको भू–बनोटले समथल पाटन, दहहरु, उकालो ओरालो बाटोहरुमा साइकल चढेर, कहीँकतै बोकेरै जाँदा कठिन भए पनि खप्तड पुगेपछि सबै दुःख बिर्सिएका थियौँ । स्वर्ग छ भने बास्तवमा खप्तड जस्तै छ होला भन्ने लाग्यो ।”

सुदूरपश्चिम आएर साइकलमै खप्तड पुग्ने कुनै कल्पनासम्म पनि नरहेको भन्दै साइकल यात्री नन्दकुुमार महर्जलने सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नसके समग्र देशको आर्थिकस्तर वृद्धि हुनेमा जोड दिनुभयो । “सुदूरपश्चिम प्रदेशको पर्यटन इकाइले यो कार्यक्रम गरिदिँदा आज आफ्नो नसोचेको सपना पूरा भएको छ”, उहाँले भन्नुभयो, “यहाँको पर्यटन प्रवर्द्धनका लागि तीनै तहका सरकारले नीतिगत योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ ।”

साइकल यात्राका क्रममा सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रमा लिइएका तस्बिरहरु सामाजिक सञ्जालमा राख्नुका साथै प्रचारप्रसार गर्ने पनि महर्जनले बताउनुभयो । आफूले अहिलेसम्म घुमेका स्थानभन्दा भिन्नै र मनोरम दृश्य खप्तडमा रहेको उहाँको भनाइ छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन इकाइ कार्यान्वयन कार्यक्रमको प्रायोजनमा ‘सिके रिचर्स एण्ड ग्रिनरी प्रोमोसन’ प्रालि गोकर्णेश्वर काठमाडौँको आयोजनामा अन्तर्राष्ट्रिय साइकल यात्रा–२०८१ तय गरिएको थियो ।

साइकल यात्रीका माध्यमबाट सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुका साथै प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय साइकल यात्राको आयोजना गरिएको सिके रिसर्चका प्रमुख छिन्डुम मेनक्पा भोटेले जानकारी दिनुभयो । 

भारत तथा नेपालका विभिन्न स्थानका गरी ४५ जना साइकल यात्री सहभागी रहेको उक्त यात्राले डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड र कैलालीको पर्यटकीय क्षेत्र खानीडाँडाबाट धनगढीसम्मको रुटको प्रचारप्रसार गरेको इकाइका निमित्त प्रमुख डबलबहादुर बोहोराले बताउनुभयो ।

“स्वस्थ जीवनका लागि साइक्लिङ आवश्यक छ सुदूरपश्चिमेलीलाई साइक्लिङकै माध्यमबाट धार्मिक तथा पर्यटकीय क्षेत्रमा टेवा पुगाउन सकिन्छ भन्ने सन्देश पनि यो यात्राले दिएको छ”, उहाँले भन्नुभयो ।

धनगढीमा साइकलयात्रीलाई बिदाइ तथा सम्मान गर्दै सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले प्रदेशमा रहेका पर्यटकीयस्थलको पहिचान र प्रचारप्रसार गर्न साइकल यात्रामार्फत प्रयास गरिएको बताउनुभयो । “भू–स्वर्गका रुपमा रहेको खप्तडमा गोरेटो बाटो तथा बास बस्नका लागि वातावरण मैत्री होमस्टे, होटेल बनाउनका लागि थप कार्यक्रम बनाएर कार्यान्वय गर्दै लैजानेछौँ”, उहाँले भन्नुभयो । 

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्