भोजपुर पूर्ण खोप युक्त जिल्ला बन्यो, भोली घोषणा हुदै
निरोज कोइराला
भोजपुर, २१ पुस
दुर्गम पहाडी जिल्ला भोजपुरका सवै बालबालिकाहरुले पूर्णरुपमा लगाउनु पर्ने खोपहरु लगाईसके संगै भोजपुर पूर्ण खोप युक्त जिल्ला घोषणा हुन लागेको छ ।
जिल्ला खोप समन्वय समिति भोजपुरले पुष २२ गते जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गर्न लागेको हो । घोषणाका लागि सम्पूर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुर सदरमुकामको स्थानिय टुँडिखेलमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्गबाट भोजपुर जिल्ला पूर्ण खोप युक्त जिल्ला भएको घोषणा हुने छ ।
जिल्लामा रहेका २ नगरपालिका र ५४ गाउँ बिकास समिति यसै अघि नै पूर्ण खोप युक्त घोषणा भैसकेकाले जिल्लालाई नै खोप युक्त जिल्ला घोषणा गर्न लागिएको हो । भोजपुरमा २०७१ फागुनबाट पूर्ण खोप युक्त जिल्लाको अभियान शुरु गरिएको थियो
प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार