यसरी गरियाे मिरालार्इ २८ लाख सहित सम्मान


 


दमक, पुस २१

अल्ट्रा म्याराथनकी अन्तराष्ट्रिय धाविका मिरा राईलाई झापाको दमकमा २८ लाखसहित सम्मान गरिएको छ । अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा नै नेपाललाई चिनाउन सफल भएको भन्दै बेलायतमा रहेको आधा दर्जन संघसंस्थाहरुले संयुक्त रुपमा उनलाई २८ लाखसहितको सम्मान गरेको हो ।

बिहिवार स्थानीय दमक रेडक्रस भवनमा एक कार्यक्रम गरि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवबहादुर विष्ट, झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, सांसद महेन्द्रकुमारी सुब्बाले रकम बराबरको चेक हस्तान्तरण गरे ।

बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङ्गको पहलमा त्यहाँ रहेका किराँत राई यायोख्खा, जेन मार्शल आर्ट एकेडेमी, भोजपुर समाज र नेपाल युथ अर्गनाईजेशनको सहयोगमा उक्त रकम जुटाईएको थियो ।

त्यसैगरि सोही कार्यक्रममा मिरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक धु्र्रवविक्रम मल्ललाई समेत २ लाख तथा सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतियोगीताका सदस्य सचिव विष्टले राईले मुलुकको गौरव बढाएको उल्लेख गर्दै उनको नाममा एकाडेमी बनाउने घोषणा गरे ।

मिरा राई नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत भएकी थिईन् ।

भोजपुर सानोदुम्जा घर भएका २६ वर्षीया मिरा शान्ति सम्झौतापछि लडाकुहरुको समायोजनमा अयोग्य भएपछि उनी एथ्लेटिक्समा लागेकी थिईन् । काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा पहिलोपटक भाग लिएर अल्ट्रा म्याराथनमा लागेकी उनले स्वदेश तथा अन्तराष्ट्रिय स्तरका आधा दर्जन बढी प्रतियोगितामा उपाधि पाईसकेकी छिन् ।

उनले आफनो खेल क्षेत्रको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट शुरु गरेकी थिईन् । त्यसलगत्तै हङकङ र फ्रान्समा भएका अल्टा«म्याराथन जितेर अन्त्राष्ट्रिय स्तरमा आफनो यात्रा थप मजवुत गरेकी थिईन् ।

उनले पछिल्लो पटक फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथन जितेपछि अन्तराष्ट्रिय स्तरमा आफनो उचाई जोड्न सफल भएकी थिइन् ।

प्रकाशित मिति: २१ पुस २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्