कप्तान रोहितको शतकमा नेपाल चार विकेटले विजयी


 


काठमाडौं, वैशाख १५ । कप्तान रोहित कुमार पौडेलको शानदार शतकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले टि–२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले पराजित गरेको छ ।

वेस्ट इन्डिज टोलीले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई जित दिलाए । नेपालले ६ विकेटको नोक्सानीमा लक्ष्य पूरा गरेको हो ।

कप्तान रोहितले १९ औं ओभरमा कट बिहाइन्ड हुनुअघि १ सय १२ रन जोडे । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार गरेका थिए । उनले २७ बलमा अर्धशतक पूरा गरेका थिए ।

नेपालले तेस्रो ओभरमा ओपनर अनिल शाहलाई गुमाएको थियो । उनी ९ बलमा ५ रन जोड्दै म्याथ्यु फर्डको बलमा टप एज लाग्दै क्याच आउट भए । लगत्तै पाँचौ ओभरमा कुशल १२ बलमा १६ रन जोड्दै विकेटकिपरको हातबाट समातिए ।

कुशल मल्ल सिंगल लिने धुनमा रनआउट हुँदा नेपाल दशौं ओभरमा ८२–३ को स्थितिमा थियो । त्यसपछि दीपेन्द्र र रोहितले चौथो विकेटका लागि ६४ रन जोडे । दीपेन्द्र १८ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै मिडअफमा क्याच आउट भए ।

विवेक यादव ठूलो सट खेल्ने धुनमा १८ औं ओभरमा ओबेड मकोएबाट बोल्ड भए । उनले ६ बलमा ७ रन मात्र जोडे ।

नेपाललले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि वेस्ट इन्डिज ए ले कप्तान रोस्टन चेजको ७४ रनमा बलियो स्कोर बनाएको हो । टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन जोड्यो ।

पहिलो ओभरमा ओपनर जोन्सन चार्ल्स आउट भएपनि वेस्ट इन्डिजले आक्रामक ब्याटिङमा पछि हटेन । कमल सिंह ऐरीले चार्ल्सलाई दोस्रो बलमा बोल्ड गरेका थिए । चौथो ओभरमा आन्द्रे फ्लेचर १३ रनमा रनआउट भए ।

अलिक अथान्जेले २५ बलमा ५ चौका र ३ छक्कासहित ४७ रन जोडे । उनी सातौँ ओभरमा कप्तान रोहितको बलमा ललितको हातबाट पोइन्टमा समातिए ।

केसी कार्टि र कप्तान चेजले चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । कार्टि २६ बलमा ३८ रन जोड्दै अभिनाश बोहोराको बलमा क्याच आउट भए ।

चेजले ४६ बलमा ८ चौका र २ छक्कासहित ७४ रन जोडे । उनी अन्तिम ओभरमा दीपेन्द्रको शिकार बने । डेब्यु गरेका कदिम एलेनेले १४ रन बनाए ।

नेपालका लागि कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहोराले १–१ विकेट लिए । सिरिज अन्तर्गतको दोस्रो खेल भोलि (आइतबार) हुनेछ ।

प्रकाशित मिति: १५ बैशाख २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्