चिनियाँ शहरमा किन भासियो जमिन ?
काठमाडौं । पूर्वाधार निर्माणमा फड्को मारेको चीनले अहिले त्यसको मूल्य चुकाउनुपरेको छ । पूर्वाधार निर्माणका क्रममा प्रयोग भएका अत्यधिक कंक्रिटका कारण हाल विभिन्न शहरमा जमिन भासिने समस्या देखिएको छ ।
औसतमा प्रतिवर्ष ३.३ मिलिमिटरका दरले जमिन भासिरहेको अनुसन्धानले देखाएको छ । कतिपय शहरमा प्रतिवर्ष ४५ मिलिमिटरका दरले जमिन भासिएको छ । यही क्रम रहिरहने हो भने सन् २१२० सम्म चीनका तटीय क्षेत्र समुन्द्र मुनि पुग्ने एक अध्ययनले दाबी गरेको बीबीसीले उल्लेख गरेको छ ।
जमिन भासिनुमा विभिन्न कारण भएपनि पहिलो कारण भने तीव्र शहरीकरणलाई मानिएको छ । ठूलाठुला भवन बनाउनका निम्ति जमिनमुनिको धेरै पानी निकालिएको र अत्यधिक भारका पूर्वाधार निर्माण भएका कारण हाल जमिन भासिने समस्या देखिएको अनुसन्धानहरुको निष्कर्ष छ ।
अमेरिकाको न्यूयोर्क शहरमा गरिएको एक अनुसन्धानले पनि गगनचुम्बी भवनमा प्रयोग भएका कंक्रिट, सीसा र स्टिलको भार औसतमा ७६२ मिलियन टन हुने देखाएको थियो । अत्यधिक भारका कारण अन्तत जमिन भासिने जोखिम रहेको त्यहाँको अध्ययनले पनि देखाएको थियो । यता चीनमा गरिएको अनुसन्धानले पनि उस्तै निष्कर्ष निकालेको छ । तीव्र रूपमा भएका शहरीकरणका कारण जमिन भासिने समस्या निम्तिएको चिनियाँ निष्कर्ष छ ।
२१ औं शताब्दीको पहिलो १५ वर्षमा चीनमा तीव्र रुपमा शहरीकरण भयो । विश्वमा भएको शहरीकरणको आधा हिस्सा त चीनमा मात्र भएको थियो । त्यसबेला त्यहाँ आवास, विमानस्थल, सडक, खानेपानी आपूर्तिका पूर्वाधार, फोहोर मैला व्यवस्थापन केन्द्र, ऊर्जा केन्द्र लगायतका पूर्वाधार धमाधम बन्न थाले ।
चीनमा पूर्वाधार निर्माणको गति कस्तो छ भन्ने बुझ्न कोभिडकालनै पर्याप्त छ । सुविधासम्पन्न नयाँ अस्पताल १० दिनभित्रै निर्माण गरिएको थियो । चीनले हरेक वर्ष आफ्नो शहरमा २१.५ अर्ब बर्ग फिट बराबरको फ्लोर स्पेस थपिरहेको छ । यो झण्डै लण्डन बराबरको हो ।
यस्ता फ्लोर स्पेसका लागि बालुवा, गिटी, पानी सिमेन्टको प्रयोग हुन्छ । विश्वमा प्रतिवर्ष ४.१ अर्ब टन सिमेन्ट उत्पादन हुन्छ । त्यसको ५२ प्रतिशत चीनमै खपत हुने तथ्यांक छ । दोस्रोमा भारतमा ६.७ प्रतिशत र युरोपेली युनियनमा ५.३ र अमेरिकामा १.९ प्रतिशत सिमेन्ट खपत हुन्छ । चीनमा उत्पादित सिमेन्ट निकै कम मात्रामा निर्यात हुने गर्छ । सन् २०२० मा मात्रै चीनले २.४ अर्ब टन सिमेन्ट खपत गरेको थियो । अमेरिकाले सोही वर्ष खपत गरेभन्दा यो २३ गुणाले बढी हो ।
अहिले भने चीनमा पूर्वाधार निर्माण केही सुस्ताएको छ । घरजग्गा कारोबार सुस्ताएसँगै कंक्रिट प्रयोगमा पनि केही कमी आएको छ ।
चीनमा कंक्रिट प्रयोग फस्टाएको धेरै भने भएको छैन । वर्षौंवर्ष त्यहाँ भवन निर्माणका लागि काठ प्रयोग भएको युनिभर्सिटी कलेज लण्डनमा इतिहासका अनुसन्धानकर्ता रहेका चेन युचानको भनाइ छ । १९ औं शताब्दीदेखि काठको अभाव हुन थालेको उनको भनाइ छ । पूर्वी चीनमा निर्माणका गतिविधि तीव्र भएकाले त्यहाँ काठको अभाव भएको थियो । केही समय काठ र स्टिल आयात पनि भएको थियो ।
सन् १९४९ मा कम्युनिस्टले शासन सत्ता हातमा लिएपछि आयात बन्दनै गरियो । त्यसपछि स्टिल र काठको विकल्पमा कंक्रिट रोज्न इन्जिनियरहरू बाध्य भएको उनले बताए । ‘चीनमा काठ र स्टिल आपूर्ति बन्द भएपछि कंक्रिटको विकल्प अगाडि आएको हो’, उनले बीबीसीसँग भनेका छन् ।
सन् १९९० देखि सन् २०१५ सम्म सिमेन्ट उत्पादन त्यहाँ ह्वात्तै बढ्यो । सन् १९८८ मा चीनले करिब ५३६ मिलियन टन सिमेन्ट उत्पादन गरेको थियो । सन् २०२३ मा उसले २.२ अर्ब टन सिमेन्ट उत्पादन गरेको तथ्यांक छ ।
केही पहिले वनविनाश रोक्नका निम्ति कंक्रिट उपयुक्त विकल्प मानिए पनि अहिले त्यही नै समस्याको रुपमा आएको छ । चुनढुंगा र माटोलाई तताउँदा कार्बनडाइअक्साइड धेरै उत्सर्जन हुने गर्छ । विश्वमा उत्सर्जन हुने कार्बनमध्ये ८ प्रतिशत हिस्सा सिमेन्ट उद्योगको छ ।
चीनमा सिमेन्ट उद्योग निकै फस्टाएकाले त्यहाँ धेरै उद्योग सञ्चालनमा छन् । सन् १९९० यता विश्वबजारमा सिमेन्ट उत्पादनमा चिनियाँ हिस्सा ७४ प्रतिशत रहेको छ । सिमेन्ट उत्पादन धेरै गर्ने भएपछि कार्बन उत्सर्जन पनि स्वभाविक रूपमा बढी नै हुने भयो ।
सन् १९९३ मा १३८ मिलियन टन कार्बन उत्सर्जन भएकामा हाल १ हजार ७३ मिलियन टन कार्बन उत्सर्जन भएको तथ्यांक छ । सन् २०५० सम्म सिमेन्टको माग १२ देखि ३३ प्रतिशतसम्म बढ्ने देखिन्छ ।
कंक्रिटले बढाएको चुनौती
कंक्रिटले वातावरणमा नकरात्मक असर पुर्याउँछ । यसको प्रयोगले आवास र जैविक विविधतामा असर त पुर्याउँछ नै । निकासीका लागि उपयुक्त पूर्वाधार नहुँदा धेरै ठाउँमा बाढीको पनि समस्या निम्तिने गरेको छ । कंक्रिट अत्यधिक भएको ठाउँमा भारी वर्षा हुँदा पनि जमिनले सोस्न सक्दैन जसका कारण बाढीको चुनौती थप बढ्छ ।
चीनको ६४० शहर बाढीको जोखिममा रहेको र ती शहरमा कंक्रिटको प्रयोगका कारण बाढीले पुर्याउनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि चीन निकै संवेदनशील देखिन्छ । यद्यपि सन् २०२१ मा जेन्झाउ शहरमा भारी वर्षात हुँदा ३०० जनाले ज्यान गुमाएका थिए । यस्तै घटना नहोस् भनेर चीनले सजगता समेत अपनाइरहेको छ ।
के छ चिनियाँ सजगता ?
सन् २००५ देखि २०१५ को बीचमा चीनले सिमेन्ट उत्पादनमा आमुल परिवर्तन गर्यो । उसले कडा मापदण्ड बनाएर उद्योगमा कडाइका साथ नियम लागु गरायो । सिमेन्ट प्लान्टहरुलाई मापदण्ड अनुसार स्तरोन्नतिका लागि बाध्य बनाइयो । यसले गर्दा प्रदूषणमा केही हदसम्म कमी आयो । सिमेन्ट उत्पादनका क्रममा नाइट्रोजन अक्साइडको उत्सर्जन धेरै नै हुनेगर्छ । यसले अम्लीय वर्षा गराउँछ । चीनले यो समस्यासँग जुध्नका निम्ति पनि उत्पादन प्रक्रियामा नयाँ तौरतरिका अपनाएको छ । विश्व सिमेन्ट तथा कंक्रिट एशोसिएसनका एड्र्यु मिनसनले बीबीसीसँग भनेका छन्, ‘अबका पूर्वाधार निर्माणमा कंक्रिट आधारभूत वस्तुनै भएको छ । तीव्र शहरीकरणका कारण अत्यधिक कंक्रिट प्रयोग हुँदा पर्ने असर बुझ्न चीनको समस्या विकसित तथा विकासशील मुलुकका लागि सन्दर्भ सामग्री हुन सक्छ । कंक्रिट प्रयोगको नकरात्मक असरमा कमी ल्याउन सबैले सोच्नुपर्ने बेला आएको छ ।’
कुन क्षेत्र बढी प्रभावित छ ?
चीनमा जमिन भासिने समस्या निकै पुरानो हो । सन् १९२० को दशकमा सांघाइ र तियान्जिन प्रभावित थिए । पछिल्लो शताब्दीयता सांघाइ करिब तीन मिटरभन्दा बढी धसिएको अनुसन्धानकर्ताहरुको जिकिर छ । जमिन भासिएकोबारे अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालयका शोधकर्ताहरुले २० लाख भन्दा बढी जनसंख्या रहेको ८२ शहरमा अनुसन्धान गरेका थिए ।
यस अध्ययनका क्रममा ४५ प्रतिशत सहरी क्षेत्रमा विगतको भन्दा समुन्द्री सतह ३ मिलिमिटर धसिएको पाइएको थियो । सन् २०१५ देखि २०२२ बीचको आँकडायता प्रतिवर्ष ३ मिलिमिटरले जमिन भासिरहेको अध्येताहरुको भनाइ छ ।
१६ प्रतिशत शहरी क्षेत्रमा भने १० मिलिमिटर भन्दा बढीले जमिन भासिएको उनीहरुको तथ्यांक छ । पूर्वाधार निर्माणका क्रममा जमिनमुनि रहेको पानी अत्यधिक निकाल्दा जमिन भासिने समस्या बढेको उनीहरुको भनाइ छ ।
प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार