जासुसी गरेको आरोपमा सांसदका सहायक कर्मचारी पक्राउ


 


काठमाडौं । जर्मनीको प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा युरोपेली सांसदसँग काम गर्ने एक सहायक कर्मचारीलाई पक्राउ गरेको छ ।

चिनियाँ मूलका यी जर्मन नागरिकलाई पूर्वी सहर ड्रेसडेनबाट पक्राउ गरिएको बिबिसीले जनाएको छ । जियान जी नामका यी व्यक्ति करिब बीस वर्षअघि यहाँ विद्यार्थीका रूपमा आएका थिए । जियानमाथि युरोपेली संसदका सदस्य म्याक्सिमिलियन क्राहसँग काम गर्दा चीनमा संवेदनशील सूचना पठाएको आरोप छ ।

जियानले दक्षिणपन्थी एएफडी पार्टीका राजनीतिज्ञ म्याक्सिमिलियन क्राउसको सहायकको रूपमा काम गरेका थिए । उनीमाथि जर्मनीमा रहेका चीन विरोधी कार्यकर्ताको सूचना संकलन गरी चीनलाई सुम्पेको आरोप पनि लागेको छ ।

केही दिनअघि मात्रै जर्मन प्रहरीले चीनका लागि जासुसी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो । यी व्यक्तिहरूमाथि जर्मनीको सैन्य प्रविधिसँग सम्बन्धित सूचना चोरेर चीनमा पठाएको आरोप छ। बेलायतमा पनि चीनका लागि जासुसी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्