जासुसी जालोभित्र नेपालको गुप्तचर
साधुराम संसारी
विश्वमा जासुसी गर्ने परम्परा कहिलेदेखि शुरु भयो भन्ने विषयमा कोही कसैले यकिन गर्न सकेका छैनन् । एकले अर्काको चियो चर्चा गर्न शुरु गरेबाटै यसको शुरुआत भयो होला भन्ने अनुमान छ । तर देश र विदेशका विभन्न जर्नलहरूको अध्ययन अनुसार यसको शुरुआत करिब २ हजार वर्षदेखि रहेको छ । प्रविधिको विकास नभइसक्दा पनि जासुसहरूले विभिन्न माध्यम अपनाएर सूचना संकलन गर्थे । यसको निरन्तरता अहिले पनि छ ।
संयुक्त राज्य अमेरिकाले लगभग सबैको देशको जासुसी गर्दछ । जबकि अन्य देशहरूले चासोका केही क्षेत्रहरूमा मात्र जासुसी गर्छन् । भारतले मुख्यतः छिमेकी राष्ट्रमध्ये सार्क र उदाउँदा शक्ति राष्ट्रहरूको बारेमा चासो राखेको पाउँछौँ ।
२०२० को ८ जुलाईमा अमेरिकाको वाशिङ्टनस्थित हड्सन इन्स्टिट्युटमा बोल्दै अमेरिकाको गुप्तचर निकाय एफबीआईका निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि ‘सबैभन्दा ठूलो र दीर्घकालीन खतरा’ भएको दाबी गरेका थिए ।
उनले चीनले विदेशमा बसोबास गर्ने चिनियाँ नागरिकलाई तारो बनाएको, उनीहरूलाई स्वदेश फर्किन दबाव दिएको र कोरोनाभाइरससम्बन्धी अमेरिकी अनुसन्धानमा बाधा पुर्याउन खोजेको आरोप लगाएका थिए । सो आरोपपछि चिनियाँ गुप्तचर संस्था र अमेरिकी गुप्तचर संस्था दुवैले एक अर्काको जासुसीलाई बढाएको पाइन्छ ।
विश्वमा गुप्तचर संथाको काम गोप्य मात्र नभई कार्यक्षेत्र पनि सीमाविहीन हुन्छ । सन् १९७६ को जुलाईमा इजरायली गुप्तचर संस्था मोसादको सूचना संयन्त्रलाई हामीले उदाहरणको रुपमा लिन सकिन्छ । यदि मोसादसँग बलियो सूचना थिएन भने इजरायली कमान्डोको होस्टेज रेस्क्यु अप्रेसन एन्टाबे युगान्डाको एरपोर्टमा पक्कै सफल हुने थिएन ।
त्यसैले त भनिन्छ हतियारधारी सैन्य भन्दा गुप्तचरहरू जहिले पनि एक कदम आगाडि रहेका हुन्छन् । विश्वभरी सुपरपावरमा रहेको अमेरिकाको लागि सीआईए, बेलायतको लागि एमआईसिक्स, चीनको लागि एमएसएस, इजरायल को लागि मोसाद, रसियाको लागि केजीवी, भारतको लागि रअ र पाकिस्तानको लागि आईएसआई जस्ता जासुसी संस्था बलिया छन् ।
यी गुप्तचर निकायहरूले आफ्नो राष्ट्रिय स्वार्थ र हितको लागि जस्तोसुकै कोर्भट अप्रेसन (भेष बदलेर गरिने गुप्त काम) पनि संसारको जुनसुकै ठाउँमा पनि पुगेर गरिरहेको हुन्छन् ।
तर नेपालमा के छ भन्ने प्रश्नले सधैँ नेपाली राजनीतिमासमेत प्रभाव पारेको छ । नेपाल प्रहरीको विशेष ब्युरो, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो तथा नेपाल आर्मीको डीएमआई बाहिर देखिने गुप्तचर हुन् तर नदेखिने गरी बसेको गुप्तचर राष्ट्रिय अनुसन्धान विभागलाई विभिन्न समयमा शक्ति राष्ट्रहरूले प्रभाव पारेको देखिन्छ ।
नेपालमा वामपन्थीहरूको वर्चश्व रहेको सरकार बनेका बेला राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा २०८१ वैशाख १२ गते चीन जान लागेका छन् । उनी चिनियाँ गुप्तचर कार्यालयको निम्तोमा आगामी बुधबार चार दिनका लागि चीन जान लागेको उच्च स्रोतले जानकारी दिएको छ ।
भ्रमण दलमा थापाकी पत्नीसहित एआइजी (सह अनुसन्धान निर्देशक) ओम जोशी र एसपी वासु सिग्देल पनि रहने बताइएको छ । थापाले यसअघि अमेरिका, भारत र दक्षिण कोरियाको भ्रमण गरिसकेका छन् ।
गत भदौमा कोरिया पुगेर आएका थापालाई ‘रअ’का प्रमुख रवि सिंहले बोलाएपछि असोजमा भारत पुगेका थिए । २०८० भदौ ११ गते कोरिया पुगेका उनले विभागको वार्षिक उत्सवसमेत मनाएका थिएनन् ।
भदौ १२ गते विभागको वार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरिया उडेका थिए । २०८० असोज १० गते भारत गएका थिए । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय कोरियन टोलीलाई २०८० वैशाख १ गते नेपालमा स्वागत गरेका थिए । तर यो विषयलाई गुपचुप राखिएको थियो ।
कोरियन टोलीले गुप्तचर टोलीले त्यतिबेला उनलाई मात्र भेटेको थिएन, प्रधानमन्त्री पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई पनि भेटेर गएको थियो । यो विषय अहिलेसम्म गोप्य नै रहेको थियो । कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओन नेपाल आएका थिए ।
माओवादीको कोटामा गुप्तचर प्रमुख नियुक्त भएका थापा लामो समय विदेश जाने प्रमुख कर्मचारीमध्ये एक हुन् । गुप्तचर विभागमा रहेका कर्मचारीहरू यसरी लामो समयसम्म विदेश भ्रमण गर्नुलाई निको मानिँदैन ।
मुलुकका विभिन्न भागमा रहेका ३,००० जनशक्तिमध्ये आधा काठमाडौमा खटिएको र उनीहरू राजनीतिक प्रकृतिका सूचना सङ्कलनमा केन्द्रित रहेको कारण अन्य सूचना संकलनमा कमजोर हुँदै आएका छन् ।
विभागले आन्तरिक गुप्तचरी मात्रै गर्ने गर्छ । नेपालको छुट्टै बाह्य गुप्तचर निकाय छैन । प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागलाई नेपालमा हुने विदेशी चलखेलको नियन्त्रण र सीमा सुरक्षाजस्ता विषयमा गुप्तचरी सूचना संकलनमा अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा प्रमुख नै विदेश भ्रमणमा दौडिरहेका हुन्छन् ।
तर उनी चीन भ्रमणमा जाने तयारीमा लागेका छन् । यो विषयमा मन्त्रीपरिषद्को बैठकले स्वीकृति प्रदान गरिसकेको छ । उनको चीन भ्रमणको निर्णयलाई सार्वजनिक गरिएको छैन । ओवादी केन्द्रका महासचिव देव गुरुङ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँगको भेटघाटमै रहेका बेला उनी त्यता जान लागेका हुन् ।
प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार