बिचार मिल्यो भने बाम एकता पनि हुनसक्छ : प्रचण्ड


 


धनगढी, वैशाख ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनबीच बाहिर हल्ला भएजस्तो कुनै कुरा नरहेको बताएका छन् ।

आज कैलालीको धनगढी बिमानस्थलमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सत्ता गठबन्धनमा बाहिर हल्ला भएको जस्तो नभई यथार्थमा एक जुट छौं,’ उनले भने, ‘गठबन्धन पूरै कार्यकाल यथावत रहन्छ ।’

प्रधानमन्त्री प्रचण्डले पार्टीबीच बिचार मिल्यो भने बाम एकता पनि हुनसक्ने बताए । ‘अहिले हामी सत्ता साझेदार मात्र हौँ हाम्रो विचार मिल्यो भने बाम एकता पनि हुन सक्छ’ उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दहालले नेपाललमा चार वटा महत्वपूर्ण काम हुन लागेको बताए । यही अर्को हप्ता कतारका राजा नेपालको भ्रमण गर्न लोगेको र उनको नेपालमा पहिलो भ्रमण रहने उनले बताए ।

दोस्रोमा लगानी सम्मेलन हुन लागेको र जहाँ ४० भन्दा बढी देश सहभागी हुने उनले बताए । सम्मेलनबाट लगानी मैत्री वातावरण सिर्जनाका लागि एक दर्जन ऐन संशोधन गरी अध्यादेश ल्याउन लागेको उनले बताए ।

जलवायु परिवर्तन सम्बन्धी चासो र चिन्ता विश्वव्यापी परिरहेको बेला आफ्नै अध्यक्षतामा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन गर्न लागिएको र चौथो नीति तथा कार्यक्रममा जनमैत्री र पुरानो ढर्राको भन्दा केही नयाँ सहित ल्याउनका लागि गृहकार्य भइरहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुदूरपश्चिम आएका हुन् ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्