भारतले दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार
काठमाडौँ, वैशाख २ । भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभयो ।
समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो । उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताउनुभयो । साथै उहाँले यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताउनुभयो ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारले लामो समयदेखि लिँदै आएको पहलमध्येको एक रहेको बताउनुभयो ।
उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिनुभयो । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।
सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर एक हजार नौ एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ ।
प्रकाशित मिति: २ बैशाख २०८१, आइतबार