नयाँ वर्षमामा पर्यटकले भरियो बन्दीपुर
दमौली, वैशाख १ । नयाँ वर्षको अवसरमा तनहुँको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्ष मनाउन देशका विभिन्न स्थानबाट पर्यटक बन्दीपुर उक्लिएका हुन् ।
बन्दीपुरमा शुक्रबारदेखि ११औँ सडक खाना महोत्सवसमेत सुरु भएको छ । बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ वर्ष मनाउन बन्दीपुर पर्यटकले खचाखच छ । हजारौँ पर्यटक नयाँ वर्ष मनाउन बन्दीपुर आउनुभएको छ । होटल पनि भरिभराउ छ ।” नयाँ वर्षमा घुम्ने संस्कृतिको विकास भएका कारण बन्दीपुरमा पर्यटक बढेका हुन् ।
बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा सुरु सडक खाना महोत्सव वैशाख २ गतेसम्म सञ्चालन हुनेछ ।
सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । मगर, नेवार, गुरुङ, ब्राह्मणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको प्रधानले बताउनुभयो ।
आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् ।
यस वर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।
बन्दीपुरमा आयोजना हुने सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिल्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।
बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल ९मिनी ग्रेटवाल०, विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्क लगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक फरक भाषामा तयार भएको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ ।
यसैगरी नयाँ वर्षकै अवसरमा जिल्लाको धार्मिक गन्तव्य छाब्दीवाराही र ढोरवाराही मन्दिरमा समेत भक्तजनको घुइँचो लागेको छ । भीडभाडका कारण दर्शनका लागि घण्टौं समय कुर्नुपर्ने अवस्था थियो ।
प्रकाशित मिति: १ बैशाख २०८१, शनिबार