आज ईद उल फित्र मनाइँदै, देशभर सार्वजनिक बिदा


 


काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज ईद (ईद–उल–फित्र) मनाउँदै छन्।

रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘ईद–उल–फित्र’ मनाउन लागेका हुन्।

ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो ।

ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ।

हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् ।

ईद पर्वमा अल्लाह (भगवान्) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ ।

चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।

प्रकाशित मिति: २९ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्