नेपालले गुजरातलाई दियो १७७ रनको बलियो लक्ष्य
काठमाडौं, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध नेपालले बलियो लक्ष्य प्रेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए ।
नेपालको सुरुवात केही सुस्त रहेको थियो । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर शेन पटेलको बलमा बोल्ड भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २१ रन रहेको थियो ।
दोस्रो विकेट भने १५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेल सँगको ७७ रनको साझेदारी पछि आशिफ शेख ३४ बलमा ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट हुदै पेभेलियन फर्किए ।
तेस्रो विकेटका रुपमा रोहित तेजश पटेलको बलमा १९औं ओभरमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी अन्तिम ओभरमा ३ बलमा ७ रन बनाएर जयमित पटेलको बलमा क्याच आउट भए ।
कुशल मल्ल १३ बलमा ३१ रन बनाएर अविजित रहे भने अर्को तिर सन्दिप जोरा ३ बलमा ७ रन बनाएर नटआउट रहे ।
गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १/१ विकेट लिए ।
प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार