के सर्वोच्चको आदेशपछि एमाले लचिलो भएकै हो?


 


काठमाडौं, पुस १९
संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने अडान राखेर संसद् अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले संसद् खुलाउन लचक देखिएको छ।

सीमांकन हेरफेर प्रस्ताव असंवैधानिक रहेको दाबीसहित संविधान संशोधन विधेयक छलफलका लागि रोक लगाउन अन्तरिम आदेश माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार त्यस्तो आदेश जारी गर्नु नपर्ने फैसला गरेलगत्तै एमाले अवरोध खुलाउन लचक बनेको हो।

गत १६ मंसिरयता सोमबारसम्म एमालेसहित नौ विपक्षी दलले आठौँपटक संसद् अवरोध गर्दै आएका थिए। एमाले नेताहरूले सीमांकन हेरफेर असंवैधानिक हुने पार्टीले राख्दै आएको अडान स्थापित हुने गरी नै अदालतको फैसला आएको दाबी गर्दै छलफल र मतदान गर्ने संसदीय प्रक्रिया नरोक्ने बताएका छन्।

यद्यपि, यसबारे एमालेले औपचारिक निर्णय भने गरिसकेको छैन। ‘अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णयपछि अब संसद्मा प्रक्रिया रोक्न मिलेन,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘त्यसैले अब प्रक्रियाका लागि एमाले तयार नहुने भन्ने हुँदैन।’ उनले पार्टीमा छलफल भइनसके पनि अदालतको निर्णयपछि आफू संसद्मा टेबुल गर्ने कुरामा अवरोध गर्न नहुने पक्षमा रहेको स्पष्ट पारे।

अदालतको निर्णयपछि संविधान संशोधन विधेयक र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज एमाले स्थायी समिति बैठक बस्ने भएको छ।

स्थायी समितिबाटै विधेयकमाथिको प्रक्रिया अघि बढाउन अवरुद्ध संसद् खोल्ने निर्णय हुन सक्ने एमाले नेताहरूको भनाइ छ। ‘हामी अदालतको निर्णयबारे आज स्थायी समिति बैठकमा गहिरो विश्लेषण गर्छौं, एमाले संसद् र संविधानको सर्वोच्चता स्वीकार गर्ने एउटा लोकतान्त्रिक पार्टी भएकाले अदालतको आदेशको सम्मान गर्छौं,’ सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले भने, ‘आज कार्यव्यवस्था परामर्श समितिमा कसरी प्रक्रिया अघि बढाउने विषयमा अन्य दलहरूसँगको समेत छलफलबाट साझा धारणा बनाउने प्रयास गर्छौं।’  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १९ पुस २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्