सुनसरीका पाँच पालिकामा कर्फ्यू, राजमार्गमा पनि सुरक्षा सतर्कता


 


विराटनगर, चैत २३ । दुई समुदायबीच विवाद बढेपछि सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ ।

एक युवकलाई कुटपिट गरेको विषयमा दुई समूहबीच झडप भएपछि प्रशासन कार्यालयले पाँच वटा पालिकामा कर्फ्यू आदेश जारी गरेको सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिए ।

उनका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाउँदै लामा दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ ।

हरिनगर गाउँपालिका(१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा आज दुई समूहबीच झडप भएको थियो ।

दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । जसमा दुई जनालाई गोली लागेको छ । स्थीति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडप स्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा सतर्कता बढाएको जिल्ला प्रकाशन कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्