घर–घरमा आएर डर धम्की दिने लघुवित्तका कर्मचारीको हातखुट्टा भाँचिदिने चेतावनी


 


धनगढी, चैत २३ । लघुवित्त पीडितहरुले विभिन्न डर धम्की दिँदै घर–घरमा आउने लघुवित्तका कर्मचारीहरुको हातखुट्टा भाँचिदिने चेतावनी दिएका छन् ।

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले विहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो चेतावनी दिएको हो । नेपाल सरकारसंग बार्ताका क्रममा भएको सहमति विपरित लघुवित्तका कर्मचारी र त्यसका सिईओहरु विगतकै शैलीमा पीडित सदस्यहरुको घर–घरमै आएर कालोसूचीमा राख्ने र धितोलिलाम गर्नेलगायतको चेतानवी दिइरहेको उनीहरुको आरोप छ ।

सरकार र संघर्ष समितिबीच भएको ६ बुँदे सहमतिमा लघुवित्तका कर्मचाहरुलाई पीडित सदस्यहरुलाई डर धम्की दिनेलगायतका गैह्रकानूनी कार्य गर्न र नगराउन निर्देशन दिनुका साथै त्यस्तो गरेको पाइए कारबाहीका लागि प्रशासनलाई अनुरोध गर्ने प्रतिबद्धता गरिएको समितिका सुदूरपश्चिम प्रदेश इन्चार्ज मणिप्रसाद चौलागाईले बताए । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नरको संयोजकत्वमा गठित कार्यदललाई ६० दिनभित्र सुझाव पेश गर्ने समय दिइएको र त्यस अवधिसम्म लघुवित्तका कर्मचारी र सिईओहरुलाई विगतको गैह्रकानूनी कार्य गर्न र नगराउन निर्देशन दिइएको उनले बताए ।

‘कार्यदलको निर्देशनविपरित लघुवित्तका कर्मचारीहरु अहिले पनि पीडित सदस्यहरुको घरमै गएर डर धम्की दिइरहेका छन्,’ उनले भने, ‘सहमतिविपरित अझै पनि त्यसरी घर–घरमा आउने काम गरे अब सहन्नौं । सिधै हातखुट्टा भाँचेर प्रशासनको जिम्मा लगाउँछौं ।’ उनले पीडित सदस्यहरुलाई पनि घर–घर आएर डर धम्की दिने कर्मचारीलाई हात खुट्टा भाचेर प्रशासनको जिम्मा लगाउन आग्रह समेत गरे ।

इन्चार्ज चौलागाईले लघुवित्तका कर्मचारी र सिईओहरुकै कारण सरकारसंग भइरहेको वार्ता भाडिने अवस्था आइरहेको समेत बताए । लघुवित्तका कर्मचारीहरुले घर–घरमा गएर तपाईहरुको आन्दोलन तुहिसकिएको र अब ऋण नतिरेकाहरुलाई कालोसूचीमा राख्ने र धितोलिलाम गरिदिने भ्रम फैलाइरहेको समेत उनले बताए । उनले यस्ता भ्रममा नपर्न सबै पीडितहरुलाई आग्रह गरे ।

उनले यदि सरकारसंगको वार्ता पनि सफल हुन सकेन र लघुवित्तका कर्मचारीले पनि विगतकै शैली अपनाए देशभरका पीडितहरु सडकमा उत्रिएर सम्पूर्ण लघुवित्तका कार्यालयहरुमा आगो लगाउने चेतावनीसमेत दिए ।

संघर्ष समितिका केन्द्रीय सदस्य सीता विकले लघुवित्तकै कारण कैयौं महिलाहरुले ज्यान गुमाएको र कैयौं घरबार बिहिन अवस्थामा पुगेको बताइन् । उनले अहिले सरकारसंग बार्ता चलिरहेका बेला पनि लघुवित्तका कर्मचारीहरुले विगतकै शैली अपनाइरहेकाले त्यसकाविरुद्धमा एकजुट हुनुपर्ने बताइन् ।

लघुवित्त चाहिन्छ भनेर महिलाहरु कहिलै अगाडि नगएको अवस्थामा लघुवित्तका कर्मचारी घरमै आएर फसाउने कार्य गरेको उनको आरोप छ । पीडितका माग पूरा नहुँदासम्म लघुवित्तका कर्मचारीहरुलाई घर घरमा नपठाउन उनले आग्रहसमेत गरिन् ।

कार्यक्रममा सहभागी भएका पीडितहरुले लघुवित्तका कर्मचारीहरु घर घरमा आउदा पनि गृहमन्त्री चुप लागिरहेको भन्दै आक्रोशसमेत पोखेका थिए । उनीहरुले लघुवित्तको आन्दोलन सकिए देश लुट्ने सहकारी र बैंकविरुद्धको आन्दोलन पनि सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।

देशभरका लघुवित्तपीडितहरु अहिले आन्दोलनमा छन् । देशका विभिन्न ठाउँबाट पैदल हिँडेर राजधानी काठमाडौं पुगेर उनीहरुले आन्दोलन चर्काएका थिए । उक्त आन्दोलनपछि यही चैत १ र २ गते सरकार र संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । उक्त सहमति अनुसार डिपुटी गभर्नरको संयोजत्वमा संघर्ष समितिका प्रतिनिधिसहितको कार्यादल गठन गरिएको छ । सो कार्यादललाई ६० दिनभित्र सुझाव पेस गर्ने समय दिइएको छ ।

सो अवधिमा लघुवित्तका कर्मचारीहरुलाई पीडितको घर–घरमा गएर विगतको शैलीमा गैह्रकानूनी कार्य गर्न र नगराउन निर्देशन दिइएको छ । यदि त्यस्तो कार्य गरेको पाइए कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने प्रतिबद्धता गरिएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्