लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले दिए राजीनामा


 


बुटवल, चैत २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका चौधरीले राजीनामा दिएका हुन् ।

बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आह्वान गरेका थिए ।

बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

चौधरीको राजीनामासंगै नयाँ सरकार गठनको बाटो खुलेको छ । गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादीले नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्