सुदूरपश्चिमका स्वतन्त्र सांसद जोशीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने


 


काठमाडौं, चैत २२ । सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएका छन् ।

उनले बहुमत नपाउने निश्चित भइसकेका मुख्यमन्त्रीलाई आफूले विश्वासको मत दिन आवश्यक नरहेको बताए । मुख्यमन्त्रीले विश्वासको मत पाउनसक्ने स्थिति भएको अवस्थामा सोच्न सक्ने स्थिति रहेको भएपनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सातै जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा मुख्यमन्त्री शाहको पद जोगाउन जोशीको मत निर्णायक हुन्थ्यो ।

बहुमत जुटाउन मुख्यमन्त्री शाहले नाउपाका पाँच जनालाई मन्त्री बनाएका छन् । तर मन्त्री नरहेका नाउपाका दुई सांसदले विश्वासको मत नदिने भएपछि स्वतन्त्र सांसद जोशीले पनि मत नदिने भएका छन् ।

यद्यपि नाउपा प्रदेश संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ । यो निर्णय बमोजिम सरकारमा सहभागी ५ मन्त्रीले विश्वासको मत दिँदा मुख्यमन्त्री शाहको पक्षमा २४ मत पुग्ने देखिन्छ । जुन मतले मुख्यमन्त्री शाहलाई प्रयाप्त हुँदैन ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेससँग १९ र नाउपासँग ७ सिट छ । नाउपाका सबै सांसदले मत दिएमा एक सांसद अपुग हुन्थ्यो र स्वतन्त्र सांसद जोशीको मत लिएर सरकार जोगाउने मुख्यमन्त्री शाहको तयारी थियो ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्