जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस


 


काठमाडौं, चैत २२ । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बिहीबारको बैठकले २७ वर्षीया खानलाई सिफारिस गरेको जसपाको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनले समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थान पूर्तिका लागि खानको नाम सिफारिस गरिएको बताए ।

शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् । उनको पनि सिभिल अस्पतालमा उपचारको क्रममा चैत ४ गते निधन भएपछि सो पद रिक्त रहेको थियो ।

जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको मुस्लिम महिला क्लस्टरको सूचीमा हसिनाको नाम समावेश थियो ।

प्रकाशित मिति: २२ चैत्र २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्