आयरल्यान्ड वल्भ्समाथि नेपाल ‘ए’ को रोमान्चक जित
काठमाडौं, चैत १९ । आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो खेलमा नेपाल ‘ए’ ले ३ रनको जित दर्ता गरेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार नेपाल ए ले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनायो ।
अन्तिम ओभरमा २० रन आवश्यक परेको स्थितिमा वल्भ्सले १६ रन मात्र जोड्न सकेको थियो । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा रशिद खानले १ रन मात्र दिएपछि नेपालले जित हासिल गरेको हो ।
यससँगै सिरिज आयरल्यान्डले २(१ को अन्तरमा जित्यो । वल्भ्सले पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनको जित दर्ता गर्दै सिरिज आफ्नो पक्षमा पारिसकेको थियो । बुधबारदेखि ३ खेलको एकदिवसीय सिरिज सुरु हुनेछ ।
फिओन ह्यान्डले ७ बलमा २२ रनको आक्रामक इनिङ खेलेपनि उनी अन्तिम ओभरको पाँचौ बलमा रनआउट भए । उनले त्यसअघि १ चौका र २ छक्का प्रहार गर्दै वल्भ्सलाई खेलमा कायम राखेका थिए ।
त्यसअघि स्पिनर विपिन खत्रीले चौथो ओभरमा दुवै ओपनरलाई पेभेलियन फर्काएर आयरल्यान्डको आक्रामक सुरुवातमा ब्रेक लगाए । उनले दोस्रो बलमा जेम्स मक्कलमलाई ७ रनमा आउट गरे । त्यसपछि पाँचौ बलमा रस अडेर पनि पेभेलियन फर्किए । उनले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ रन बनाए ।
छैटौं ओभरमा पिटर मुर २ रन जोड्दै विपिनकै शिकार बने । कप्तान निल रक ८ बलमा २ रन जोड्दै नारायण जोशीको पहिलो बलमा क्याच आउट भए । त्यसपछि मोर्गन टपिङ्ग र ग्यारेथ डेलानीले राम्रो साझेदारी गरे ।
पाँचौ विकेटका लागि यी दुईले १ सय २९ रनको साझेदारी गरे । १८ औं ओभरमा मोर्गन रशिद खानको बलमा बाउन्ड्रीनजिक क्याच आउट भए । उनले ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनको योगदान दिए ।
१९ औं ओभरमा कमल सिंह ऐरीले ग्यारेथ डेलानीलाई आउट गर्दै नेपाललाई खेलमा बलियो स्थितिमा पुर्याए । अन्तिम २ ओभरमा ३२ रन आवश्यक पर्दा सेट ब्याटर डेलानी ६८ रनमा आउट भए । उनले ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।
नेपालका लागि विपिन खत्रीले १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । कमल ऐरी र नारायण जोशीले १(१ विकेट बाँडे ।
त्यसअघि आरिफ शेखको अर्धशतकमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोडेको थियो । नेपालका लागि आरिफ शेखले नटआउट ९३ रनको योगदान दिए । उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए ।
आरिफ ३३(३ को स्थितिमा क्रिजमा आएर अन्त्यसम्म डटेर खेले । उनले मध्यक्रममा बसिर अहमदसँग साझेदारी गर्दै बलियो योगफलसम्म पुग्न आधार तयार गरे । अन्त्यतिर राशिद र कमल सिंह ऐरीसँग उनले आक्रामक साझेदारी गरे ।
ओपनर देव खनाल ९६० दोस्रो ओभरमा ६ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बल पछि अर्का ओपनर लोकेश बम ९८० पनि विकेटकिपरको हातबाट समातिए । कप्तान विनोद भण्डारी ११ रन जोड्दै पाँचौ ओभरमा आउट भएपछि नेपाल ३३(३ को स्थितिमा पुग्यो ।
बसिर र आरिफले चौथो विकेटका लागि ५७ रनको साझेदारी गरे । ११ औं ओभरमा बसिर १९ रन जोड्दै एलबीडब्लु आउट भए । पवन सर्राफले १२ बलमा १३ रन जोडे । लगत्तै नारायण जोशी १ रन जोड्दै नन स्ट्राइक एन्डमा रनआउट हुन पुगे ।
राशिद खानले १३ बलमा ३ छक्कासहित २४ रन जोडे । बाउन्ड्रीनजिक क्याच आउट हुनुअघि उनले आरिफसँग ४६ रनको साझेदारी गरे । त्यसपछि कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्कासहित नटआउट १९ रन बनाए ।
फिओन ह्यान्डले २ विकेट लिँदा लियाम मकार्थी, म्याथ्यु फोस्टर, ग्यारेथ डेलनी र ग्याभिन होएले १-१ विकेट हात पारे ।
प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार