विराट चक्र विज्ञानमा पाँच हजार सहभागी


 



लुम्बिनी, १७ चैत । जीवन विज्ञानको आयोजनामा बुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि सुरु भएको ‘विराट चक्र विज्ञान’ कार्यक्रममा ऐतिहासिक सहभागिता भएको छ ।

लुम्बिनी स्थित अन्तराष्ट्रिय ध्यान कक्षमा ‘लुम्बिनीमा ध्यान, विराट चक्र विज्ञान’ को नारा सहित सुरु भएको सात दिवसीय कार्यक्रममा पाँच हजार जनाभन्दा बढी सहभागी भएका छन् । 

कार्यक्रममा देशका ७७ ओटै जिल्ला र विभिन्न २० देशका व्यक्तिहरू सहभागी छन् । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, सांसद, पूर्वमन्त्री, विभिन्न तहको नेतृत्वमा रहेका नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, व्यवसायी, उद्योगी, शिक्षक, विद्यार्थी र विभिन्न पेशामा रहेका व्यक्तिहरू सहभागी कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञ तथा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एवम् श्रद्धेय गुरुदेवद्वय एल पि भानु शर्मा र रमेश नेपालले चक्र सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक र प्रयोगात्मक कक्षाहरू गराउनु हुन्छ । आज पहिलो दिन एल पि भानु शर्मा र रमेश नेपालले सात चक्र मध्ये मुलाधार चक्र सक्रिय बनाउने विधि र अभ्यासहरू प्रयोग गनुभयो ।  

यस कार्यक्रममा मानिसले जन्मदै लिएर आएका उर्जाका सातओटा केन्द्रहरुलाई सबल र सक्रिय बनाउँने वैज्ञानिक र प्रयोगात्मक ध्यान प्रणालीको प्रयोग गरिन्छ । मानिसको मेरुदण्डको तल्लोभागबाट शिरको माथिल्लो भागसम्म भएका सातओटा चक्रलाई सातदिनमा वैज्ञानिक र प्रयोगात्मक बिधिको प्रयोग गरेर शुद्ध र सक्रिय पारिन्छ । मानव जीवनमा स्वास्थ्य, सुख, प्रेम, साहस ज्ञान, ध्यान, शान्ति र आनन्दको स्रोतका रुपमा रहेका ती चक्र निष्क्रिय हुँदा मानिस निराशा, डर, अशान्ति, कठोरपना तथा नकारात्मकता भरिएको छ । 

मानिसलाई चलाउने चक्ररुपी उर्जाका ती केन्द्रलाई सक्रिय र व्यवस्थित बनाइ मानिसमा उत्साह, उमङ्ग, खुसी, जोस, जाँगर, आँट साहस भर्न विराट चक्र विज्ञान आयोजना गरिएको हो । यस कार्यक्रमले आध्यात्मिक जागरणको अभियानलाई बृहत बनाउने अपेक्षा गरिएको छ । 

विगत १३ वर्षदेखि आध्यात्मिक साधना तथा जीवन व्यवस्थापनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जीवन विज्ञानले मानिसमा रहेका स्वास्थ्य, सुख, प्रेम, साहस ज्ञान, ध्यान, शान्ति र आनन्दका सम्भावना खोज्न नेपालभर योग र ध्यानका तीनसय बढी प्रयोगशालामा नियमित कक्षा सञ्चालन गरिरहेको छ । भने अनलाइन प्रयोगशालाहरुबाट विश्वका ६५ भन्दाबढी देशमा कार्यक्रमहरु भइरहेको जानकारी गराउँदछौ । 

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्