प्रधानमन्त्री र ओलीकाे भेटवार्तामा के–के भयाे ?


 


काठमाडौँ, पुस १८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अाइतबार भेटवार्ता भएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउन सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको बताइएको छ ।

प्रधानमन्त्रीले सोमबार सदनमा संशोधन प्रक्रिया अगाडि बढाउने तयारी रहेको भन्दै संसद् अवरोध हटाउन ओलीलाई आग्रह गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष ओलीले संशोधन प्रस्ताव देश हितविपरित रहेको भन्दै निर्वाचनसम्बन्धी विधेयक अगाडि बढाए मात्रै आफूहरुको सहयोग हुने जवाफ दिनुभएको बताइएको छ । गोप्य राखिएको सो भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले एक्लाएक्लै लामो समय वार्ता भएको बताइएको छ ।

वार्तामा ठोस सहमति नभए पनि केही विषयमा सहमति नजिकनजिक पुगेको तथा सोमबार सरकार र प्रतिपक्षीबीच संसद्मा असहज स्थिति निम्त्याउन नहुनेमा दुवै नेता एकमत भएको बताइन्छ ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको निजी सचिवालयले भेट भएको स्वीकार गरेपनि त्यसबारे खुलाउन चाहेन । सरकारले संविधान संसोधन प्रक्रिया अगाडि बढाएपछि एमालेसहित आठ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्