आयरल्यान्ड वल्भ्सले एक खेल अगावै जित्यो टि२० सिरिज


 


काठमाडौं, चैत १७ । आयरल्यान्ड वल्भ्सले नेपाल ए विरुद्ध जारी ३ खेलको टि२० सिरिज एक खेल अगावै जितेको छ ।

शनिबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा ४० रनको जित निकाल्दै वल्भ्सले सिरिज जितेको हो ।

वल्भ्सले प्रस्तुत गरेको २ सय २५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ १८ औं ओभरमा १ सय ८४ रन जोड्दै अलआउट भयो । पछिल्लो खेल २१ रनले जितेको वल्भ्स लगातार दोस्रो जितका साथ २-० को अग्रता लिन सफल भयो । अन्तिम खेल सोमबार हुनेछ ।

नेपालका लागि ओपनर देव खनालले सर्वाधिक ४७ रन जोड्दा अन्य ब्याटरले ठूलो स्कोर खडा गर्न सकेनन् । लोकेश बमले आक्रामक सुरुवात दिलाएका थिए । १३ बलमा ३ चौका र २ छक्कासहित २५ रन जोडेका उनी चौथो ओभरको पहिलो बलमा आउट भए ।

कप्तान विनोद भण्डारीले पनि ३ छक्का र १ चौकासहित १३ बलमा २६ रन जोडे । उनी आउट हुँदा नेपाल ७ ओभरमा ९३(२ को स्थितिमा थियो । देव २५ बलमा ७ चौका प्रहार गर्दै बेन ह्वाइटको बलमा नवौं ओभरमा आउट भए ।

त्यसपछि किरण ठगुन्ना ३, आरिफ शेख १४, पवन सर्राफ १०, रशिद खान १ र विपिन खत्री १ रनमा सीमित बने । बसिर अहमद २३ बलमा ३ चौका सहित २७ रन जोडेर नवौं विकेटको रुपमा आउट भए । कमलले ११ रन बनाए ।

वल्भ्सका लागि बेन ह्वाइटले ३, फिओन ह्यान्ड र थोमस मेयसले २-२ तथा म्याथ्यु फोस्टर र ग्यारेथ डेलनीले १-१ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २४ रन जोड्यो । वल्भ्सका कप्तान निल रक र पिजे मुरले अर्धशतक प्रहार गरे ।

रक ७१ बलमा नटआउट रहे । उनले ३४ बलमा १ चौका र ७ छक्का प्रहार गरे । फिओन ह्यान्डले ११ बलमा २ छक्कासहित नटआउट १९ रनको योगदान दिए ।

चौथो ओभरमा ओपनर जेम्स मक्कलम १३ बलमा ३ चौका र २ छक्कासहि २६ रन जोड्दै आउट भए । उनी सगर ढकालको बलमा विकेटकिपरबाट समातिए । त्यसको केहीबेरमा अर्का ओपनर रस अडेर पनि १७ रन जोड्दै सागरकै शिकार बने ।

स्टेफन डोहनी ४ र केड कार्माइकल १ रनमा आउट भएपछि आयरल्यान्ड ६६-४ को स्थितिमा पुगेको थियो । त्यसपछि पिटर मुरले कप्तान निल रकसँग ६१ रनको साझेदारी गरे । मुर २६ बलमा ३ चौका र ७ छक्काको आक्रामक इनिङ खेल्दै बाउन्ड्रीमा समातिए ।

ग्यारेथ डेलानी १० रनमा आउट भए । नेपालका लागि सागर ढकालले ३ विकेट लिँदा कमल ऐरी र पवन सर्राफले १(१ विकेट लिए ।

प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्