धान उत्पादनमा १० जिल्लाको कीर्तिमान


 


काठमाडौं, पुस १८
अघिल्ला वर्षाको तुलनामा सर्वाधिक धान फलेको यस वर्ष तराईका १० जिल्लाले उत्पादनमा कीर्तिमान बनाएका छन्। अघिल्लो आर्थिक वर्ष भारतीय नाकाबन्दीलगायतका कारण मल, बिउ र औषधि अभावले धान उत्पादन १० प्रतिशतले घटेको थियो। अघिल्लो वर्ष कम उत्पादन भएका जिल्लामै यस वर्ष अत्यधिक धान उत्पादन भएको छ।

गत वर्षको तुलनामा २१.६६ प्रतिशतले उत्पादनमा वृद्धि भएर यो वर्ष एक खर्ब साढे चार अर्ब मूल्यबराबरको ५२ लाख ३० हजार मेट्रिक टन धान फलेको छ। अघिल्लो आर्थिक वर्षमा ४२ लाख ९९ हजार मेट्रिक टन धान फलेको थियो।

यस वर्ष उल्लेख्य परिमाणमा धान फल्नुमा १० वटा जिल्लाको उत्पादनले मुख्य भूमिका खेलेको छ। कृषि विकास मन्त्रालयले आइतबार वर्षेवालीको तथ्यांक सार्वजनिक गर्दै १० जिल्लामा अत्याधिक उत्पादन हुँदा परिमाणमा वृद्धि आएको जनाएको छ।

केही वर्षयता उत्पादनको हिसावले निकै तल पुगेको केही जिल्ला पनि यो वर्ष माथि उक्लेका छन्। नेपाल राष्ट्रबैंक र केन्द्रीय तथ्यांक विभागसँग सहकार्य गरी धान उत्पादनको अवस्था सार्वजनिक गरिएको छ।

यो वर्ष आश्चर्यजनक रूपमा धानको उत्पादन वृद्धि भयो, मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने, ‘उन्नत बिउ, मल, प्रविधि र अकासे पानीका कारण उत्पादनले रेकर्ड तोड्यो।’

धान उत्पादनका हिसाबले झापा सर्वोत्कृष्ट ठहरिएको छ। झापामा यस पटक तीन लाख ३८ हजार मेट्रिक टन धान फलेको छ। यसैगरी दोस्रो नम्बरमा मोरङ आएको छ। मोरङमा तीन लाख २५ हजार आठ सय मेट्रिक टन उत्पादन भएको छ।

तेस्रो नम्बरको कैलालीमा दुई लाख ८३ हजार दुई सय २४ मेट्रिक टन र चौथो रूपन्देहीमा दुई लाख ७२ हजार एक सय ८४ मेट्रिक टन धान फलेको वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिए।

यस्तै बारामा दुई लाख ४० हजार चार सय २५ मेट्रिक टन, धनुषामा दुई लाख २५ हजार तीन सय ९८ मेट्रिक टन, कपिलवस्तुमा दुई लाख १० हजार पाँच सय ८२ मेट्रिक टन, बर्दियामा दुई लाख दुई हजार मेट्रिक टन, सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन र सुनसरीमा एक लाख ८४ हजार मेट्रिक टन धान फलेको छ।

नवलपरासीमा एक लाख ८२ हजार, पर्सामा एक लाख ८० हजार, कञ्चनपुरमा एक लाख ६७ हजार, सप्तरीमा एक लाख ६२ हजार र सिरहामा एक लाख ५५ हजार मेट्रिक टन धान फलेको छ।
सातआठ वर्षदेखि सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरीलगायतका जिल्लामा धान कम परिमाणमा फल्दै आएको थियो।

धान उत्पादनमा वृद्धि भए पनि नेपालीको भाते बानीका कारण यस वर्ष पनि करिब चार लाख मेट्रिक टन चामल अपुग हुने अवस्था छ। गत वर्षको गहुँको उत्पादनकै हाराहारीमा उत्पादन भए यो वर्ष खाद्यान्नमा आत्मनिर्भर भएर करिब आठ लाख मेट्रिक टन खाद्य बचत हुने अवस्था छ, प्रवक्ता कार्कीले भने।

कृषि विभागका महानिर्देशक युवकध्वज जीसीका अनुसार चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा यस वर्ष मकै, कोदो र फापर उत्पादनमा समेत वृद्धि भएको छ। यस वर्ष २२ लाख ५९ हजार मेट्रिक टन मकै फलेको छ। अघिल्लो आर्थिक वर्षमा २२ लाख ३१ हजार मेट्रिक टन मकै फलेको थियो। यस्तै यस वर्ष तीन लाख ६ हजार मेट्रिक टन कोदो उत्पादन भएको छ। अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १८ पुस २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्