सहकारी ठगीमा मेरो नाम आयो भन्ने छ, नामबाहेक केही छैन : गृहमन्त्री लामिछाने


 


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

बुधबार राज्य व्यवस्था समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सो कुरा बताएका हुन् ।

गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो कतै संलग्नता नरहेको स्पष्ट पारे । बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए ।

जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले भने,‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन । अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन ।’

उनले सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केही नभएको बताए ।आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाको रुपमा लिएको उनले बताए ।

कांग्रेस सांसद प्रसाद बडूले सहकारी प्रकरणमा नाम मुछिएकाले गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका थिए।

उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भन्ने जनतालाई विश्वास दिलाउनका लागि भएपनि छानबिन अवधिमा बाहिर बस्न आग्रह गरेका थिए।

प्रकाशित मिति: १४ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्