परराष्ट्रमन्त्री श्रेष्ठ आज चीन जाँदै, यस्ता छन् प्रमुख एजेण्डा


 


काठमाडौं, चैत ११ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार ९ दिने औपचारिक भ्रमणका लागि चीन जाँदैछन्‌।

चिनियाँ कम्युनिष्ट पार्टीका राजनीतिक व्यूरो सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । श्रेष्ठले त्यहाँ बेल्ट एण्ड रोड इनिसिएटीभ ९बीआरआइ० र नेपालमा चिनियाँ लगानीबारे छलफल गर्नेछन्‌।

श्रेष्ठको सचिवालयका अनुसार चीन भ्रमण क्रममा नेपाली प्रतिनिधिमण्डलले चीनियाँ नेताहरूसँग भेटघाट गर्नेछ। आगामी मंगलबार श्रेष्ठले चिनियाँ समकक्षी यीलाई भेट्नेछन्‌।

नेपालले सन्‌ २०१७ मे महिनामै बीआरआइ सम्झौतामा हस्ताक्षर गरेको थियो। तर बीआरआइ अन्तर्गत अधिकांश परियोजनामा हालसम्म ठोस प्रगति हुन सकेको छैन । यसअघिको सत्ता गठबन्धनको प्रमुख साझेदार कांग्रेसले बीआरआइ परियोजना अघि बढाउन नचाहेको आरोप वर्तमान सत्तारुढ माओवादी केन्द्र र एमालेले आरोप लगाउने गरेका छन्‌ ।

नेपालमा चीनको महत्वाकांक्षी बीआरआइ परियोजना अघि बढाउन अनुकूल ठानिएको वर्तमान सरकारका परराष्ट्रमन्त्रीले चीनलाई यस मामिलामा आश्वस्त पार्ने प्रयास गर्ने जनाइएको छ। साथै, श्रेष्ठले नेपालमा लगानी बढाउन चीनका उद्योगी(व्यवसायीसँग पनि छलफल गर्नेछन्‌।

कूटनीतिक तथा राजनीतिक भेटवार्ता सम्पन्न गरेपछि परराष्ट्रमन्त्री श्रेष्ठ तिब्बतको मानसरोवर पुग्ने कार्यक्रम पनि छ । । उनी चैत १९ गते स्वदेश फर्कनेछन्‌ ।

प्रकाशित मिति: ११ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्