प्रेमिकाको हत्या आरोपमा प्रेमी पक्राउ


 


धरान, चैत ९ । प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरान उपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको मूलघाटबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रेम सम्बन्धलाई लिएर आफ्नै प्रेमीबाट श्रेष्ठको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

उनका अनुसार हत्या गरिएकी श्रेष्ठ र हत्या आरोपी भुजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानका क्रममा देखाएको छ । तर गत पुसदेखि श्रेष्ठसँग सम्बन्ध बिग्रिएपछि आरोपी भुजेलले योजनाबद्ध रूपमा श्रेष्ठको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रउ रेग्मीले पत्रकार सम्मेलनमा बताए ।

प्रहरीले श्रेष्ठको हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरीसमेत सार्वजनिक गरेको छ । यही चैत ६ गते राति हत्या गरी धरान–१८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबीचको खोल्सामा फालिएको अवस्थामा श्रेष्ठको शव फेला परेको थियो ।

प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्