चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु


 


पाँचथर, चैत ७ । चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मंगलबारराति चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।

चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए । त्यहाँ प्राथमिक उपचारपश्चात् उनलाई थप उपचारका लागि मध्यरात जिल्ला अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उनलाई चिकित्सकले राति १२ बजे मृत घोषित गरेका थिए ।

उहाँका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएका थिए ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्