अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ


 


काठमाडौं, चैत ७ । प्रहरीले देशका विभिन्न ठाउँबाट लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन् ।

मोरङ, सुन्दरहरैचा नगरपालिका–५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका–४ घर भएका ३६ वर्षीय बिक्रम मगर र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने ५२ वर्षीय पदम निरौलालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ७ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुर, पुनर्वास नगरपालिका–११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम र लागूऔषध जस्तो देखिने कालो पदार्थ २० ग्राम २ सय ५० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका–५ पवेरा बस्ने २१ वर्षीय बिजय चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता झापा, बाह्रदशी गाउँपालिका(२ बिरिङ पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ७ सय ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–४ बस्ने २३ वर्षीय अलागिर हक, २६ वर्षीय मो. हुसेन र २१ वर्षीय मन्जिर रुलहक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले शरणामतिबाट खाडिगाउँतर्फ जाँदै गरेको मे ७ प १०२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, गौरादह नगरपालिका–१ डेरा गरी बस्ने २८ वर्षीय विशाल सुब्बा समेत दुई जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ
गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय राजकुमार ताजपुरियालाई २ ग्राम ४ सय ०० मिलिग्राम र २८ वर्षीय कुमार तामाङलाई २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ ।

यस्तै ईलामको ईलाम नगरपालिका–७ टुडिखेल बस्ने ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ मिलिग्राम र नगद १३ हजार रूपैयासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्