संसद बैठकमा कांग्रेसको अवरोध, गृहमन्त्रीमाथि छानविनको माग


 


काठमाडौं, चैत ७ । प्रतिनिधिसभा बैठक सुरू भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि हुनुपर्ने माग गर्दै आएको कांग्रेसले संसद बैठकमा अवरोध जनाएका हुन् । बैठकमा सांसदहरूले आ-आफ्नो सिटबाट उठेर अवरोध जनाए ।

सांसदहरुको अवरोधपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिए । सो अवसरमा बोल्दै उनले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि आफ्नो पार्टीले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन् ।

सांसद न्यौपानेले गृहमन्त्रीमाथि अनुसन्धान गर्न अर्को बैठकसम्म संसदीय समिति गठन गर्नुपर्ने माग गरिन्। सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उनले बताइन्।

यस्तै काँग्रेसका अन्य सांसदहरुले पनि बैठकमा आकस्मिक समय लिएर सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् ।

कांग्रेसको माग बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्