सहकारी ठगी प्रकरण : लामिछानेको बचाउ गर्दै दाहाल–ओली


 


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगीको विषयले संसद् बैठक आगामी दिनमा पनि प्रभावित हुने देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबारको संसद् बैठकमा लामिछानेमाथि लागेको आरोपका विषयमा दिएको प्रस्टीकरणमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै संसद् बैठक चल्न नसक्ने जनाउ दिइसकेको छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा पर्याप्त प्रमाण रहेकाले संसदीय छानबिन समिति गठन गर्नुपर्ने भनी माग गरेको छ । सत्ता पक्षले भने त्यसलाई अस्वीकार गरेको छ ।

संसदीय छानबिन समिति गठन नभए संसद् बुधबारदेखि चल्न नदिने चेतावनी कांग्रेसले दिइसकेको छ । मंगलबारको बैठकमा सत्तारूढ दलका नेताले गृहमन्त्री लामिछानेको बचाउ गर्दै सहकारी ठगी प्रकरणमा कुनै प्रमाण नभएकाले संसदीय छानबिन समिति गठन गर्न आवश्यक नभएको अडान राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्षसमेत रहेका गृहमन्त्री लामिछानेमाथि सहकारीपीडितले उजुरी दिँदै कारबाहीको माग गरेको जिकिर कांग्रेसले गरेको छ ।

त्यसैले, संसदीय छानबिन समिति गठन गरेर अगाडि बढनुपर्ने, नभए संसद् चल्न नदिने चेतावनी कांग्रेसको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि सहकारी ठगी प्रकरणमा पर्यात प्रमाण रहेको दाबी गरे । राजधानी दैनिकबाट

प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्